
पोखरा, २२ भदाै । रसुवामा बाढीबाट प्रभावित परिवारहरूको सहयोगार्थ सृष्टि क्रिएसन प्रा.लि., पोखरा ले करिब रु. ३ लाख बराबरका ३२८ थान नयाँ टी–सर्ट सहयोग गरेको छ।
बाढीबाट प्रभावित बालबालिकादेखि युवा तथा ज्येष्ठ नागरिकसम्मका दाजुभाइ तथा दिदीबहिनीहरूका लागि विभिन्न साइजका टी–सर्टहरू राहतस्वरूप पठाइएको हो।

सृष्टि क्रिएसनका सञ्चालक शान्ता श्रेष्ठ को सञ्चालनमा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रतिनिधि सभा सदस्य माननीय उत्तम प्रसाद पौडेलज्यू अतिथिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा महानगरपालिका सभापति योगेन्द्र के.सी.को उपस्थिति रहेको थियो।
कार्यक्रममा सृष्टि क्रिएसनका अन्य सञ्चालकहरूको समेत सहभागिता रहेको थियो। कार्यक्रममा सृष्टि क्रिएसन प्रा.लि.की अध्यक्ष शान्ति श्रेष्ठ उदासले राहत सामग्री प्रमुख अतिथि माननीय उत्तम प्रसाद पौडेललाई हस्तान्तरण गर्नुभयाे ।
उक्त राहत सामग्री वास्तविक रसुवा बाढीपीडित परिवारसम्म पुर्याउने उद्देश्यले सहयोग गरिएको सृष्टि क्रिएसनले जनाएको छ।
सहयोग हस्तान्तरणका क्रममा सृष्टि क्रिएसनका तर्फबाट प्राकृतिक विपत्तिको समयमा पीडित नागरिकको दुःखमा साथ दिनु सबैको मानवीय दायित्व भएको उल्लेख गर्दै, सहयोग ठूलो वा सानोभन्दा पनि दुःखमा परेका आफ्ना दाजुभाइ तथा दिदीबहिनीप्रति अपनत्व र साथको भावना महत्वपूर्ण हुने बताइएको छ ।
सृष्टि क्रिएसनले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको यस सहयोगले रसुवा बाढीपीडित परिवारलाई केही राहत पुग्ने विश्वास व्यक्त गरेको छ।



























