
कायरो, २२ भदौ । इरानले होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्न खोज्ने पानीजहाजलाई लक्षित गर्दै जलडमरूमध्य बाहिर नयाँ ‘निषेधित क्षेत्र’ घोषणा गर्ने तयारी गरेको जनाएको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का नयाँ प्रमुख मोहसेन रेजाईले आइतबार सरकारी सञ्चारमाध्यममार्फत यस्तो जानकारी दिनुभयो ।
उहाँका अनुसार आगामी केही दिन वा साताभित्र उक्त क्षेत्र घोषणा गरिनेछ । रेजाईका अनुसार निषेधित क्षेत्र अमेरिकी नौसैनिक नाकाबन्दीको सीमाबाट सुरु भएर होर्मुज जलडमरूमध्यतर्फ फैलिनेछ र त्यस क्षेत्रबाट फारसको खाडीतर्फ पनि विस्तार हुनेछ । उहाँले होर्मुज जलडमरूमध्य पार गर्ने उद्देश्यले उक्त क्षेत्रमा प्रवेश गर्ने र पहिचान हुने कुनै पनि पानीजहाजलाई इरानको प्रतिबन्ध सूचीमा राखिने चेतावनी दिनुभयो ।
यद्यपि, इरानले उक्त क्षेत्रको सीमा कहाँबाट सुरु हुने भनेर स्पष्ट गरेको छैन । अमेरिकी नाकाबन्दी इरानी बन्दरगाहलाई लक्षित गर्दै इरानलाई तेल निर्यात गर्नबाट रोक्ने उद्देश्यले सञ्चालन भइरहेको बताइएको छ । अमेरिकी सेनाका अनुसार नाकाबन्दीलाई २० भन्दा बढी युद्धपोतले सहयोग गरिरहेका छन् ।
आइतबारसम्म उक्त नाकाबन्दीका कारण ९२ वटा व्यापारिक पानीजहाजको मार्ग परिवर्तन गरिएको र तीनवटा पानीजहाजलाई सञ्चालन गर्न नसक्ने बनाइएको जनाएको छ ।





























