पोखरा, २८ जेठ । कास्कीको पोखरामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार (SRHR) सम्बन्धी एक दिवसीय ‘समुदाय अभिमुखीकरण कार्यक्रम’ (Community Outreach Program) सम्पन्न भएको छ। महिला, कानुन र विकास मञ्च (FWLD) को आयोजना तथा एम्प्लिफाई चेन्ज (Amplify Change) को सहयोगमा आज (जुन ११, २०२६) सो कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव जमुना शर्मा ‘वर्षा’ ले मुख्य सहजकर्ताको रूपमा प्रस्तुति दिनुभएको थियो।

प्रजनन् स्वास्थ्य र कानुनी सचेतनामा जोड

आफ्नो प्रस्तुति राख्दै महासचिव जमुना शर्मा ‘वर्षा’ ले “मेरो शरीर, मेरो अधिकार” भन्ने मूल मर्मलाई आत्मसात् गर्दै प्रजनन स्वास्थ्य पूर्ण रूपमा मानव अधिकारसँग जोडिएको विषय भएको बताउनुभयो। उहाँले महिलाहरूले आफ्नो शरीर र प्रजनन प्रक्रियामा आफैंले निर्णय गर्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने कुरामा जोड दिनुभयो।

प्रस्तुतिका क्रममा उहाँले भन्नुभयो: “प्रजनन स्वास्थ्य केवल स्वास्थ्यको विषय मात्र होइन, यो स्थापित मानव अधिकार र कानुनी अधिकारको विषय पनि हो। यस सम्बन्धी कानुनहरू र सचेतनाका कुराहरू समुदायको तल्लो तहसम्म पुग्नु अपरिहार्य छ।”

उहाँले नेपालको प्रचलित कानुनले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारलाई मौलिक हकका रूपमा ग्यारेन्टी गरे पनि व्यावहारिक रूपमा अझै धेरै महिलाहरू सचेतनाको अभावमा पीडित हुनुपरेको तर्फ ध्यानाकर्षण गराउनुभयो।

सामुदायिक पहुँचमा जोड

‘सामुदायिक पहुँच: यौन तथा प्रजनन स्वास्थ्य अधिकार’ भन्ने नारालाई सार्थक तुल्याउन स्थानीय स्तरमा यस्ता सचेतनामूलक अभियानहरू निरन्तर सञ्चालन गर्नुपर्ने सहभागीहरूले बताएका थिए।

कार्यक्रममा स्थानीय सरोकारवाला, महिला अधिकारकर्मी, सञ्चारकर्मी र सामुदायिक प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो, जसले प्रजनन अधिकार र कानुनी उपचारका मार्गहरूबारे छलफल गरेका थिए।

महिलाको अंश र वंशको सुरक्षा हुनुपर्छ

कार्यक्रममा बोल्दै अधिकारकर्मी बीना सिलवालले महिला अधिकारलाई आर्थिक र सामाजिक रूपमा बलियो बनाउनुपर्ने बताउनुभयो। उहाँले ‘जन्मघरमा महिलाको वंश र अंशको सुरक्षा’ सुनिश्चित नभएसम्म महिलाहरू पूर्ण रूपमा आत्मनिर्भर र सुरक्षित हुन नसक्ने धारणा राख्नुभयो। कार्यस्थलमा महिलाहरूले भोग्नुपर्ने चुनौतीहरूका बारेमा बोल्दै ‘कार्यक्षेत्रको सुरक्षा’ र मर्यादित वातावरणको ग्यारेन्टी गरिनुपर्ने कुरामा जोड दिनुभयाे ।

व्यावहारिक शिक्षा र स्वास्थ्य परामर्शको आवश्यकता

छलफलमा भाग लिँदै मेरि स्टोप्सकी पूजा कार्कीले सुरक्षित यौन तथा प्रजनन स्वास्थ्यका लागि गुणस्तरीय स्वास्थ्य परामर्शको पहुँच सबैमा हुनुपर्ने बताउनुभयो। त्यस्तै, जिल्ला प्रहरी कार्यालय कास्की महिला सेलकी रञ्जना कुँवरले महिला र बालबालिकामाथि हुने हिंसा न्यूनीकरणका लागि कानुनी सचेतनासँगै समाजमा व्यावहारिक र यौन शिक्षाको आवश्यकता रहेको औंल्याउनुभयो।

कार्यक्रममा पत्रकारहरू भरत काेइराला, कञ्चन थापा, तारा चापागाई, सन्देश श्रेष्ठ र कृष्ण दवाडीका साथै अधिवक्ताद्वय सरिता तिमिल्सिना पगेनी र दुर्गा भण्डारी एवं पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतम, पर्यटन व्यवसायी शाेभा पाण्डेले शिक्षा, स्वास्थ्य, कानुनी उपचारको मार्ग र परामर्श सेवालाई एकीकृत रूपमा अगाडि बढाउनुपर्ने सुझाव दिनुभयो। उहाँहरूले सही शिक्षा र कानुनी साक्षरताले मात्र समुदायमा परिवर्तन सम्भव हुने कुरामा ऐक्यबद्धता जनाउनुभयो।

स्थानीय सरोकारवाला, महिला अधिकारकर्मी र सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको सो कार्यक्रमले ‘सामुदायिक पहुँच: यौन तथा प्रजनन स्वास्थ्य अधिकार’ को नारालाई व्यवहारमा उतार्न स्थानीय सरकार र नागरिक समाज सँगै उभिनुपर्ने निष्कर्ष निकालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0