
काठमाडौं, २४ वैशाख। साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। अघिल्लो दिन बुधबार सामान्य गिरावट आएको बजारमा यस दिन सुधार देखिएको हो।
बिहीबार नेप्से परिसूचक ६.९४ अंकले बढेर २७१८.१६ विन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स ०.९५ अंक, फ्लोट इण्डेक्स ०.३० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२२ अंकले सकारात्मक रहेका छन्।
परिसूचक बढे तापनि कारोबार रकममा भने बुधबारको तुलनामा गिरावट आएको छ। बुधबार ३ अर्ब १९ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बिहीबार ३३४ कम्पनीको ४५ हजार ६५ पटकको कारोबारमा २ अर्ब ९३ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको ६६ लाख ८४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

उच्च वृद्धि र गिरावट
बिहीबार स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उल्लेख्य सुधार देखिएको छ। यस संस्थाको शेयरमूल्य सर्वाधिक १२.१९ प्रतिशतले बढेको छ। अन्य कम्पनीहरूको मूल्य वृद्धिदर भने साढे ४ प्रतिशतभन्दा कमै सीमित रह्यो।
यता, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा भने पहिरो गएको छ। यसको शेयरमूल्य सर्वाधिक १३.२४ प्रतिशतले घटेको छ। त्यस्तै, अप्पर लोहोरे खोला जलविद्युत कम्पनीको शेयरमूल्य पनि ९ प्रतिशतभन्दा बढीले गिरावट आएको छ।
कारोबारमा शीर्ष स्थान
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो। यस कम्पनीको १७ करोड ६८ लाख ३३ हजार रुपैयाँ बराबरको शेयर किनबेच भयो। दोस्रोमा रिलायन्स स्पिनिङ्ग मिल्सको साढे १४ करोड र तेस्रोमा नेशनल हाइड्रोपावरको १४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
उपसमूहको अवस्था
कारोबारमा आएका १३ उपसमूहमध्ये ८ वटाको परिसूचक बढेको छ भने ५ वटाको घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.५७ प्रतिशतले बढ्दा वित्त, लगानी, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचकमा भने सामान्य गिरावट देखिएको छ।


























