
केप क्यानभेरल (फ्लोरिडा), १८ चैत । झन्डै पाँच दशकपछि मानवलाई पुनः चन्द्रमातर्फ पठाउने तयारीमा रहेको नासाको आर्टेमिस–२ मिसनले अन्तरिक्ष अन्वेषणमा नयाँ अध्याय खोल्ने सङ्केत दिएको छ ।
सन् १९७२ पछिको पहिलो मानवयुक्त चन्द्र उडानका रूपमा हेरिएको यस अभियानले प्रत्यक्ष अवतरण नगरे पनि भविष्यका चन्द्र अभियानका लागि महत्त्वपूर्ण आधार तयार गर्नेछ । अपोलो कार्यक्रमको झल्को दिने यो मिसनमा चार अन्तरिक्ष यात्री चन्द्रमातर्फ प्रस्थान गर्नुहुनेछ । उहाँहरू चन्द्रमाको सतहमा अवतरण नगरी त्यसबाट हजारौँ माइल टाढासम्म पुगेर फर्किनुहुनेछ ।
करिब १० दिनभन्दा कम अवधिको यो ‘फ्लाइबाइ’ उडानले चन्द्रमाको परिक्रमा नगरी पृथ्वीमा सीधा फर्कने योजना समेटेको छ । यस मिसनमा सहभागी अन्तरिक्ष यात्रीहरू रिड वाइजम्यान, भिक्टर ग्लोभर, क्रिस्टिना कोच र जेरेमी ह्यानसेन विविधता र अन्तर्राष्ट्रिय प्रतिनिधित्वका दृष्टिले विशेष मानिनुहुन्छ । कोचले महिला अन्तरिक्ष यात्रीमध्ये सबैभन्दा लामो एकल अन्तरिक्ष उडान (३२८ दिन) को कीर्तिमान बनाइसक्नुभएको छ र पहिलो सर्वमहिला स्पेसवाकमा पनि सहभागी हुनुभएको थियो ।
ग्लोभर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा बस्ने पहिलो अश्वेत अन्तरिक्ष यात्रीमध्ये एक हुनुहुन्छ भने क्यानाडाका ह्यानसेन पहिलोपटक अन्तरिक्ष यात्रामा निस्कँदै हुनुहुन्छ । वाइजम्यानले अनुभवी कमाण्डरका रूपमा टोलीको नेतृत्व गरिरहनुभएको छ । मिसनका लागि प्रयोग गरिने स्पेस लन्च सिस्टम (एसएलएस) रकेट अपोलो युगको स्याटर्न–५ भन्दा छोटो भए पनि प्रक्षेपण शक्तिका हिसाबले अझ शक्तिशाली मानिन्छ ।
यसको शीर्षमा ओरियन क्याप्सुल रहनेछ, जसले अन्तरिक्ष यात्रीहरू बोकेको हुनेछ । तर प्रक्षेपणअघि केही प्राविधिक चुनौतीहरू पनि देखिएका छन् । हाइड्रोजन चुहावट र हिलियम प्रवाहसम्बन्धी समस्याले परीक्षणहरू प्रभावित पार्दै प्रक्षेपण समयतालिका केही पछि धकेलिएको छ । उडानपछि पहिलो २५ घण्टा अन्तरिक्ष यात्रीहरूले पृथ्वीको उच्च कक्षामा परिक्रमा गर्नुहुनेछ । त्यसपछि उहाँहरूले भविष्यका चन्द्र अभियानका लागि आवश्यक डकिङ अभ्यास गर्नुहुनेछ ।
सबै प्रक्रिया सफल भएमा ओरियनको मुख्य इन्जिनले यानलाई करिब तीन लाख ९३ हजार किलोमिटर टाढा चन्द्रमातर्फ पठाउनेछ । ‘फ्रि–रिटर्न ट्राजेक्टोरी’ प्रयोग गरिने यस उडानमा चन्द्र र पृथ्वीको गुरुत्वाकर्षणको सहायताले इन्धन बचत गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1



























