
सान इसिड्रो (अर्जेन्टिना), १६ जेठ । हप्तौँको सुनुवाइ र ४० भन्दा बढी साक्षीको गवाहीपछि अर्जेन्टिनाको अदालतले बिहीबार एक टिभी मिनिसिरिजको स्क्यान्डलका कारण दिवङ्गत महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको चिकित्सक टोलीको मुद्दालाई रद्द गरेको छ ।
सन् २०२० मा म्याराडोनाको मृत्युमा कथित चिकित्सा लापरवाहीका कारण पहिलेदेखि नै ढिलाइ भएको यस मुद्दामा तीन नयाँ न्यायाधीशसहित नयाँ मुद्दा सुरुदेखि नै सुरु गर्नुपर्नेछ । न्यायाधीश जुलिएटा माकिन्टाच यस मुद्दाका बारेमा वृत्तचित्र मिनीसिरिजमा संलग्न हुनुभएको र यसले नैतिकताका धेरै नियमहरू उल्लङ्घन गरेको हुनसक्छ भन्ने कुरा खुलासा भएपछि उहाँ यस हप्ता मुद्दाबाट राजीनामा दिन बाध्य हुनुभयो ।
उहाँका सहकर्मी न्यायाधीश म्याक्सिमिलियानो साभारिनोले माकिन्टाचको व्यवहारले म्याराडोनाका छोराछोरी लगायत साक्षीहरूबाट घण्टौँ पीडादायी, कहिलेकाहीँ अश्रुपूर्ण गवाही सुनेको कार्यवाहीमा ‘पूर्वाग्रह उत्पन्न’ गरेको भन्दै बिहीबार मुद्दा रद्द गर्नुभयो । “म शान्त छैन । म रिसाएको छु । म तिनीहरूलाई घृणा गर्छु !” फुटबल खेलाडीकी छोरी जाना म्याराडोनाले बिहीबार अदालत बाहिर पत्रकारहरूलाई भन्नुभयो ।
पूर्व साझेदार भेरोनिका ओजेडाले घटनालाई ‘अपमानजनक’ भन्नुभएको छ । तर उहाँले भन्नुभयो, “यदि मैले यो (गवाही) हजार पटक बढी गर्नुपर्यो भने, म गर्नेछु ।” विश्वको सबैभन्दा महान् खेलाडीमध्ये एक मानिने म्याराडोनाको सन् २०२० नोभेम्बरमा मस्तिष्कको शल्यक्रियाबाट निको हुँदै गर्दा ६० वर्षको उमेरमा निधन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

























