
पेशावर (पाकिस्तान), २९ असोज । उत्तर–पश्चिम पाकिस्तानको पेशावर सहर स्थित एक निजी विद्यालयको छाना खस्दा बिहीबार एक जना शिक्षकसहित २१ जना विद्यार्थीको मृत्यु भएको अस्पतालका अधिकारीले बताएका छन् ।
पेशावरस्थित ‘लेडी रिडिङ अस्पताल’ का अधिकारी आसिम खानले मृतकको सङ्ख्या पुष्टि गर्दै ३० जनाभन्दा बढी घाइते भएको र तीमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जानकारी दिनुभएको छ ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले विज्ञप्ति जारी गर्दै घटनामा भविष्यका कर्णधारहरुको बहुमूल्य जीवन गुमेको घटनाप्रति गहिरो दुःख र शोक व्यक्त गर्नुभएको छ ।
विज्ञप्ति मार्फत प्रधानमन्त्री सरिफले शोकाकुल परिवारहरूप्रति समवेदना प्रकट गर्नुभएको छ भने उहाँहरूलाई यो अपूरणीय क्षति सहन सक्ने शक्ति तथा धैर्य प्राप्त होस् भनी कामना गर्नुभएको छ ।
करीव २४ करोडभन्दा बढी जनसङ्ख्या भएको दक्षिण एसियाली मुलुक पाकिस्तानमा कमजोर सुरक्षा मापदण्ड र निर्माणमा गुणस्तरहीन सामग्रीको प्रयोगका कारण भवन वा छाना खस्ने घटनाहरू पटक–पटक हुने गरेको जनाइएको छ ।


























