बैंकक, २९ असोज । मध्यपूर्वमा जारी युद्धका कारण खाडी मुलुकहरूको अर्थतन्त्रमा नकारात्मक असर पर्ने भएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले ऊर्जा सम्पन्न मध्यपूर्वी देशहरूको अर्थतन्त्रमा सुधार आउन समय लाग्ने जनाएको छ ।

युद्धले विभिन्न क्षेत्रमा दीर्घकालीन असर पार्ने भएकाले अर्थतन्त्र तत्काल युद्धअघिको अवस्थामा फर्कन नसक्ने आईएमएफका क्षेत्रीय निर्देशक जिहाद अजोरले बिहीबार बताउनुभएको छ । इरानबाट सुरु भएको युद्ध साउदी अरब र यमनसम्म फैलिँदा क्षेत्रीय सुरक्षा र आर्थिक गतिविधिमा असर परेको छ । विशेषगरी समुद्री मार्गबाट हुने ऊर्जा ढुवानी प्रभावित हुँदा विश्वव्यापी ऊर्जा आपूर्तिमा समेत चिन्ता बढेको छ ।

अजोरका अनुसार युद्धका कारण विभिन्न आर्थिक क्षेत्रमा दीर्घकालीन क्षति पुग्ने, पूर्वाधार प्रभावित हुने र भविष्यमा यस्ता संकट सामना गर्न थप खर्च गर्नुपर्ने अवस्था सिर्जना भएको छ । त्यसैले मध्यकालमा मध्यपूर्वका अर्थतन्त्र युद्धअघिको अवस्थामा फर्कने सम्भावना कम रहेको उहाँले बताउनुभएको छ ।“हामी मध्यकालमा युद्धअघिको आर्थिक अवस्थामा फर्कने छैनौँ । यो संकटले विभिन्न क्षेत्रमा दीर्घकालीन असर पार्नेछ, पूर्वाधारमा अवरोध सिर्जना गर्नेछ र भविष्यमा थप जोखिम सामना गर्न खर्च बढाउनुपर्नेछ,” अजोरले पत्रकारहरूसँग भन्नुभयो ।

आईएमएफले मंगलबार सार्वजनिक गरेको प्रक्षेपणअनुसार सन् २०२६ मा मध्यपूर्व र मध्य एसियाको अर्थतन्त्र ०.३ प्रतिशतले खुम्चिने अनुमान गरिएको छ । इरान युद्धको प्रत्यक्ष असर परेका यी क्षेत्रमा आर्थिक गतिविधि कमजोर हुने देखिएको छ । साउदी अरबको अर्थतन्त्रमा पनि ठूलो असर पर्ने अनुमान गरिएको छ । आईएमएफका अनुसार सन् २०२६ मा साउदी अरबको अर्थतन्त्र ३.३ प्रतिशतले खुम्चिन सक्छ । ऊर्जा निर्यातबाट बलियो आम्दानी गर्दै आएको साउदी अरबमा आर्थिक सङ्कुचनको यस्तो अनुमानलाई दुर्लभ आर्थिक मन्दीको सङ्केतका रूपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0