पोखरा, ११ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा उम्मेदवार गनेस पौडेल खड्कराजले कास्कीका विभिन्न स्थानमा मतदातासँग प्रत्यक्ष संवादपछि जिल्लामा घण्टी चुनाव चिह्नप्रति स्पष्ट जनसमर्थन देखिएको दाबी गरेका छन्।

रुपा र मादी गाउँपालिकाका महत्वपूर्ण बस्तीहरूसहित पोखरा विजयपुर पूर्वका सबै वडाहरूमा पाँच दिनसम्म औपचारिक तथा अनौपचारिक कार्यक्रममार्फत करिब २० हजार मतदातासँग प्रत्यक्ष संवाद गरेपछि उनले यस्तो निष्कर्ष निकालेका हुन्। उम्मेदवार पौडेलका अनुसार मतदाताबाट सुन्ने मुख्य पाँच धारणा अत्यन्त स्पष्ट र एकरूप देखिएका छन्।

उनले भने, “धेरै मतदाताले ‘आकाश खसे पनि फागुन २१ सम्म आफ्नो निर्णय नबदल्ने’ र यसपटक घण्टीमै भोट हाल्ने बताइरहेका छन्।” उनका अनुसार मतदाताले रास्वपालाई पहिलो र अन्तिम अवसरको रूपमा हेरेको प्रतिक्रिया पनि व्यापक रहेको छ। “सुधार भयो भने पाँच वर्षपछि पनि घण्टीमै भोट दिने, नत्र राजनीति र मतदानप्रति निराश हुने चेतावनी मतदाताबाट आएको छ,” उनले बताए।

पौडेलले कतिपय मतदाताले आफूहरू केवल उम्मेदवारलाई हेर्न र सुन्न मात्र आएको, भोट भने पहिले नै घण्टीमा हाल्ने निर्णय गरिसकेको बताएको उल्लेख गरे। साथै अन्य दलमा आबद्ध भए पनि खुला रूपमा भन्न नसक्ने अवस्थाबीच भित्री समर्थन र मौन सहानुभूति व्यापक देखिएको उनको भनाइ छ।

“कतिपय मतदाताले पुरानो पार्टी नछाड्ने भए पनि आफ्नो परिवारका अधिकांश सदस्यको भोट घण्टीमा जाने स्पष्ट बताएका छन्,” उनले भने, “यो गाली–गलौज होइन, शान्त र मुस्कानसहितको मौन विद्रोह हो।” उम्मेदवार पौडेलले यी आधारमा कास्कीका तीनै निर्वाचन क्षेत्रमा रास्वपाले भारी मतसहित जित हासिल गर्ने दाबी गर्दै कास्की–१ मा मात्र कम्तीमा ४० हजार मत घण्टीमा आउने अनुमान व्यक्त गरेका छन्।

यसैबीच, आज दिउँसो १ बजे हवेली मार्गमा आयोजना हुने अन्तरसंवाद कार्यक्रममा अभिनेत्री तथा रास्वपा नेतृ रीमा विश्वकर्मासँगै सहभागी हुने जानकारी दिँदै उनले सबै मतदाता र शुभेच्छुकलाई उपस्थितिका लागि आह्वान गरेका छन्।

रास्वपा कास्की–१ का वडाहरूमा उम्मेदवारसँग अन्तरक्रिया सम्पन्न, आज पनि विभिन्न स्थानमा कार्यक्रम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की क्षेत्र नम्बर–१ ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारसँग अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रमलाई तीव्र बनाएको छ। सोही क्रममा शनिबार विभिन्न वडामा कार्यक्रम सम्पन्न भएको छ भने आज पनि विभिन्न स्थानमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ।

शनिबार कास्की–१ अन्तर्गत वडा नम्बर २८ को कालिकास्थान, वडा नम्बर ३० को शिवुवा मन्दिर, वडा नम्बर ३१ को बेगनास ताल, वडा नम्बर १४ को खर्सी बजार तथा वडा नम्बर १० को बुद्धचोक पिपलडालीमा उम्मेदवारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा स्थानीय मतदाता, पार्टी कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी नागरिकहरूले शिक्षा, स्वास्थ्य, रोजगारी, भ्रष्टाचार नियन्त्रण, सुशासन र स्थानीय विकासका विषयमा आफ्ना जिज्ञासा, गुनासा तथा सुझाव राखेका थिए। सो अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की क्षेत्र नम्बर–१ उम्मेदवार गनेस पौडेल खड्क राजले “राजनीतिलाई सेवाको माध्यम बनाउँदै नागरिकको विश्वास जित्ने गरी काम गर्ने” प्रतिबद्धता व्यक्त गर्दै जनताका सुझावलाई घोषणापत्र र आगामी कार्ययोजनामा समेटिने बताए।

उनले स्थानीय समस्या स्थानीय तहमै समाधान गर्न सक्ने नीति र इमानदार नेतृत्व आवश्यक रहेको धारणा राखे। यसैबीच, आज आइतबार कास्की–१ का थप वडाहरूमा पनि उम्मेदवारसँग अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम हुने भएको छ। आज वडा नम्बर १२ शितलदेवी, वडा नम्बर १३ काहँखोला, वडा नम्बर १४ को हवेली मार्ग, छिनेडाँडा वडा कार्यलय, वडा नम्बर १४ कै शिब मन्दिरमा कार्यक्रम तय गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी कास्की–१ ले नागरिकको प्रत्यक्ष सहभागितामै आधारित राजनीति निर्माण गर्न यस्ता कार्यक्रम प्रभावकारी भएको बताउँदै आज हुने कार्यक्रममा स्थानीय बासिन्दा, मतदाता र सरोकारवालालाई सक्रिय सहभागिताका लागि आह्वान गरेको छ। कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टी कास्की क्षेत्र नम्बर–१ का निर्वाचन संयोजक श्रवण जर्मकटेल तथा निर्वाचन कमाण्डर श्रीकृष्ण न्यौपानेको नेतृत्वमा सञ्चालन भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0