
पोखरा, २१ पुस । रोटरी क्लब अफ पोखरा लेकसाईडले ११ औं चार्टर डे को अवसरमा साेमबार रक्तदान कार्यक्रम गरेको छ ।
पोखराको लेकसाइडस्थित हल्लनचोकमा सोमबार आयोजना गरिएको कार्यक्रमको रोटरीका डिष्ट्रिक्ट गभर्नर विनोद कोइरालाले उद्घाटन गरेका थिए ।
पहिलो रक्तदाता क्लबका पूर्व अध्यक्ष उपेन्द्र अधिकारी र उनकी पत्नी कृतिका सुवेदी अधिकारीलाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गरिएको हो ।
सो अवसरमा गभर्नर कोइरालाले रक्तदान कार्यक्रम पुण्यको काम भएको उल्लेख गर्दै क्लबले चार्टर डे को अवसरमा रक्तदान कार्यक्रम सुरुआत गरेकोमा खुसी व्यक्त गरे ।
यसैगरी सामाजिक सेवामा रोटरी इन्टरनेशनल सदा सक्रिय रहँदैआएको उनको भनाइ थियो । डिष्ट्रिक्ट सेक्रेटरी सुभाष सिग्देलले मानिसले मरेपछि खाली हात नै जाने भएकाले जीवित छँदै पुण्यको काम गर्नुपर्ने सुझाव दिए । उनका अनुसार मानिसले अरुलाई विस्डम, नलेज र स्कील (बुद्धि, ज्ञान र सीप) बाँड्नुपर्छ ।
क्लब अध्यक्ष राजेन्द्र लिगलले रोटरीको नाम ‘लेकसाइड’ रहेको हुँदा पोखराको प्रमुख पर्यटकीयस्थल लेकसाइडदेखि नै रक्तदान आयोजना गरिएको र आगामी वर्षमा पनि निरन्तरता दिने बताए ।
क्लबका पब्लिक इमेज चेयर एवं कार्यक्रम संयोजक कृष्ण थापाको संयोजकत्वमा भएको उक्त कार्यक्रममा पोखरा घुम्न आएका आन्तरिक एवं बाह्य पर्यटकले समेत रक्तदान गरे । कार्यक्रममा ३० युनिट रगत संकलन भएको क्लबका एड्मिन चेयर कुलप्रसाद सुवेदीले जानकारी दिए ।

संयोजक थापाद्वारा ८४ औं पटक रक्तदान
सोही अवसरमा कार्यक्रम संयोजक कृष्ण थापाले ८४ औं पटक रक्तदान गरे । १८ देखि ६५ वर्षका स्वस्थ मानिसले हरेक ३ महिनामा रक्तदान गर्न सकिने उनले बताए ।
कार्यक्रममा क्लबका पूर्व अध्यक्ष अर्जुन खनाल, पत्रकार आरजु विष्ट सल्यानीले रक्तदानको महत्वमाथि प्रकाश पारेका थिए ।
कार्यक्रममा स्वागत कार्यक्रम संयोजक थापा र सञ्चालन एड्मिन चेयर कुलप्रसाद सुवेदीले गरे ।
कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरु डा. वीरबहादुर कार्की, शोभाकान्त सिग्देल, सामुदायिक केन्द्र बैदामका अध्यक्ष ठाकुर बरालसमेतको उपस्थिति थियो ।
सो अवसरमा रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग रहेको केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले बताए । ११ औं चार्टर डे मनाएको क्लबमा हाल ३१ जना रोटरियन रहेको क्लब अध्यक्ष लिगलले बताए ।


























