
बेथलेहेम (प्यालेस्टिनी क्षेत्रहरू), १० पुस । गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा बढी समयपछि बेथलेहेम सहरले पहिलो पटक क्रिसमस पर्व मनाएको छ । बुधबार राति येशू ख्रीष्टको जन्मस्थल मानिने ऐतिहासिक चर्च अफ द नेटिभिटीमा सयौँ श्रद्धालुहरू भेला भई सामूहिक प्रार्थनामा सहभागी भए ।
सन् २०२३ अक्टोबरमा इजरायलमा हमासको आक्रमणसँगै सुरु भएको द्वन्द्वका कारण विगतका वर्षहरूमा बेथलेहेमको क्रिसमस उत्सव शोक र मौनताले ढाकिएको थियो । तर यस वर्ष गाजामा लागू गरिएको नाजुक युद्धविरामको सन्दर्भमा वेस्ट बैंकको यस सहरमा परेड, सङ्गीत र प्रार्थनासहित उत्सवको माहोल पुनः फर्किएको देखियो । मध्यरातभन्दा अघि नै चर्च अफ द नेटिभिटी श्रद्धालुहरूले भरिएको थियो ।
राति ११ः१५ बजे अङ्ग सङ्गीत (ओर्गान म्युजिक) को धुनसँगै पादरीहरूको जुलुस सुरु भयो । जेरुसेलमका ल्याटिन प्याट्रिआर्क कार्डिनल पियरबेटिस्टा पिज्जाबालाले क्रसको सङ्केत गर्दै उपस्थित श्रद्धालुहरूलाई आशीर्वाद प्रदान गर्नुभयो । धर्मोपदेशमा उहाँले शान्ति, आशा र पुनर्जन्मको सन्देश दिनुहुँदै क्रिसमसको कथाले आजको अशान्त विश्वमा पनि गहिरो अर्थ राख्ने बताउनुभयो । “क्रिसमसले हामीलाई प्रभुत्वभन्दा माथि उठेर प्रेम, एकता र न्यायको शक्ति पुनः चिन्ने अवसर दिन्छ”, उहाँले भन्नुभयो ।
हालै युद्धग्रस्त गाजाको भ्रमणको स्मरण गर्दै उहाँले युद्धविरामका बाबजुद पनि पीडा अझै बाँकी रहेको उल्लेख गर्नुभयो, तर त्यहाँका मानिसहरूको साहस र फेरि उठ्ने इच्छाले आफूलाई प्रेरित गरेको पनि बताउनुभयो । उता भ्याटिकनमा पोप लियो चौधौँले सेन्ट पिटरको बेसिलिकामा आफ्नो पहिलो क्रिसमस मास दिनुहुँदै विश्वभर २४ घण्टाको शान्तिको आह्वान गर्नुभयो । पोप फ्रान्सिसको निधनपछि निर्वाचित अमेरिकी पोन्टिफले क्रिसमसलाई ‘विश्वास, दान र आशाको पर्व’ का रूपमा वर्णन गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1



























