एयर फोर्स वन, १७ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतका राजा चाल्र्स तृतीयका भाइ पूर्व राजकुमार एन्ड्र्यु र दिवङ्गत यौन अपराधी जेफ्री एपस्टिनबीचको अपमानजनक सम्बन्ध प्रकरणप्रति दुःख प्रकट गर्नुभएको छ । उहाँले उक्त घटनाका कारण बेलायती शाही परिवारप्रति ‘नराम्रो महसुस’ भएको बताउनुभयो ।

एयर फोर्स वनमा रहेका बेला एएफपीका पत्रकारले हालैको शाही विवादबारे प्रश्न गर्दा ट्रम्पले भन्नुभयो, “म निकै नराम्रो महसुस गर्छु । यो परिवारका लागि निकै डरलाग्दो र दुःखद अवस्था हो । वास्तवमै म उहाँहरूप्रति सहानुभूति महसुस गर्छु ।” ७९ वर्षीय ट्रम्प आफैँ पनि न्युयोर्कका धनी वित्तीय कारोबारी एपस्टिनसँगको आफ्नै सम्भावित सम्बन्धका कारण पछिल्ला महिनाहरूमा राजनीतिक दबाबमा रहँदै आउनुभएको छ ।

एपस्टिनको सन् २०१९ मा जेलमा रहँदै मृत्यु भएको थियो । ट्रम्पको टिप्पणी त्यस्तो समयमा आएको छ जतिबेला बेलायती सरकारले पूर्व राजकुमार एन्ड्र्युको बाँकी रहेको मानार्थ ‘भाइस–एडमिरल’ पद समेत खोस्ने तयारी गरिरहेको छ । उहाँलाई अब औपचारिक रूपमा एन्ड्र्यु माउन्टब्याटन–विन्डसर भनेर चिनिन्छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले विगतमा बेलायती शाही परिवारप्रति बारम्बार प्रशंसा प्रकट गर्नुभएको छ । केही महिना अघि सेप्टेम्बर महिनामा राजा चार्ल्सले उहाँलाई भव्य राजकीय भ्रमणका क्रममा विन्डसर क्यासलमा राजकीय भोज, सैन्य परेड र फ्लाइओभरसहितको स्वागत गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0