
मनिला, १७ कात्तिक । फिलिपिन्सको पूर्वी र मध्य भागमा आएको शक्तिशाली आँधी ‘कलमेगी’ का कारण सोमबारदेखि दशौँ हजार नागरिकलाई सुरक्षित स्थानतर्फ सारिएको छ । प्रशान्त महासागरबाट तीव्र गतिमा अघि बढिरहेको यस टाइफुनका कारण तटीय क्षेत्रका माछा मार्ने कार्य रोकिएका छन् भने साथै अधिकारीहरूले भारी वर्षा र तीन मिटर (झन्डै १० फिट) उचाइका घातक ज्वारभाटा आउन सक्ने चेतावनी दिएका छन् ।
फिलिपिन्स मौसम विभागका अनुसार स्थानीय रूपमा ‘टिनो’ भनिने ‘कलमेगी’ सोमबार बिहान पूर्वी समर प्रान्तको गुइआन सहरबाट करिब २३५ किलोमिटर पूर्वमा थियो । यसले १२० किलोमिटर प्रतिघण्टा स्थायी र १५० किलोमिटर प्रतिघण्टासम्मका तीव्र हावा बहाइरहेको बताइएको छ । आँधी सोमबार साँझतिर फिलिपिन्सको तटीय क्षेत्रमा प्रवेश गर्ने र त्यसपछि मङ्गलबार पश्चिमतर्फ सर्दै सेबू लगायतका केन्द्रीय टापु प्रान्तहरूमा असर पु¥याउने अनुमान गरिएको छ ।
यी क्षेत्रमा गत सेप्टेम्बर ३० मा आएको ६.९ म्याग्निच्युडको भूकम्पले ठूला क्षति पु¥याएको थियो । भूकम्पमा परी कम्तीमा ७९ जनाको निधन भएको र हजारौँ नागरिक अझै विस्थापित रहेका छन् । पूर्वी समरका गभर्नर आर. भी. एवार्डोनले सेना, प्रहरी, अग्नि नियन्त्रक र विपद् निवारण टोलीहरूको सहकार्यमा अनिवार्य निकासी आदेश जारी गरे। उनका अनुसार गुयुआन, मर्सिडिज र साल्सेडोका तटीय सहरका ७० हजारभन्दा बढी नागरिकलाई सुरक्षित निकासी केन्द्रहरू, बलियो कन्क्रीट घर वा सामुदायिक भवनहरूमा सारिएको छ । गभर्नर एवार्डोनले तीन मिटर अग्लो ज्वारभाटा आउन सक्ने चेतावनी दिँदै स्थानीय बासिन्दालाई सतर्क रहन अनुरोध गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

























