पोखरा, २५ असार । नेपाली कांग्रेसका नेता तथा कांग्रेस कास्कीका पूर्व सभापति कृष्ण केसीले पार्टीले गरेकाे कारबाहीबारे राेष प्रकट गर्दै शव्दद्वारा कडा रुपमा आफ्नाे धारणा प्रस्तुत गरेका छन् ।

नेता केसीमाथि गएकाे चुनावमा पार्टीकाे आधिकारिक उम्मेदवारलाई हराउन लागेको आरोप लगाएर पार्टीकाे अनुशासन समितिले ३ महिनाका लागि निलम्बित गरेपछि केसीकाे उक्त भनाइ बाहिर आएकाे हाे । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टीभित्र निष्ठा र संघर्षको होइन, गुट र चाकडीको राजनीति हाबी भएको छ ।’

नेता केसीले अगाडी लेखेका छन्, ‘राजनीतिक मूल्याङ्कन संघर्षले नभई गुटबन्दीका आधारमा गरिएको छ । उनले निर्णय प्रक्रियामा संलग्न रहेका नेताहरूलाई कटाक्ष गरेका छन्।

 

उनकाे स्टाटसमा भनिएकाे छ, “नेपाली कांग्रेस कास्कीमा लामो समयदेखि निष्ठा, मिहिनेत र संघर्ष प्राथमिकतामा छैन, बरु नेता र गुटको चाकडी, अस्वाभाविक स्वार्थको साझेदारी नै प्राथमिकताको आधार बनेको छ ।”

मलाई निलम्बन गर्न सिफारिस गर्नेदेखि निरन्तर कारबाहीको माग गर्ने र तिनकै इसारामा निर्णय गर्ने नेता वर्गलाई धन्यवाद दिन चाहन्छु, उनले लेखेका छन्। कम्तीमा अब स्पस्ट भयो, राजनीतिक जीवनको मूल्यांकन सेवाले होइन, चाकडीले हुन्छ।”

नेता केसीले २०३६ सालको विद्यार्थी आन्दोलनदेखि हरेक मोर्चामा होमिएर यहाँसम्म आएको बताएका छन्। उनले लेखेका छन्, “मैले झुट्टा मुद्दा खेपेँ, जेल गएँ, गोडा भाँचिए। माओवादी द्वन्द्वमा ज्यानको जोखिम मोलेर शान्तिको पक्षमा अडिएँ। ई०५१ सालमा श्रीमती गुमाएर साना छोराछोरीसँग आँसु पुछ्दै जनताको घरमा मत माग्न पुगेँ।” आफूलाई कुनै नेताले नभई जनताको विश्वासले नेता बनाएको उनले दाबी गरेका छन्।

केसीले पार्टीबाट कारबाही भएपनि जनताको मनमा रहिरहेकाे र जनताकाे मनबाट कसैले निकाल्न नसक्ने बताएका छन् । उनले पार्टी र संगठनका लागि गरेकाे योगदानको लेखाजोखा इतिहासले गर्ने बताएका छन्।

केसीले कारबाहीकाे बारेमा दिएकाे प्रतिक्रिया संगै राजनीतिकाे मैदान नछाेड्ने दृढता व्यक्त गरेका छन् । उनले भने, “म मैदान छोड्दिन र भाग्दिन पनि,” “कसैले मलाई पार्टीबाट हटाएर आफ्नो सुरक्षित भविष्य खोज्नु भएको होला, तर २०८४ को चुनावी मैदानमा तपाईंहरू र म पुनः आमनेसामने हुनेछौँ।”

नेता केसीले आफू जुनसुकै भूमिकामा रहे पनि कास्कीको सामाजिक, राजनीतिक र विकासको अभियानमा जीवनको अन्तिम सास रहेसम्म रहि रहनेछु भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0