
काठमाडौं, २६ जेठ । साताको शेयर काराेबार हुने दोस्रो दिन साेमबार नेपाली शेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । यसिदनकाे बढाेत्तरी चारदिन पछिकाे हाे ।
नेप्से परिसूचक २३.१९ अंकले बढेर २६५३.०९ विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स २.४४ अंकले बढेको छ । फ्लोट इण्डेक्स १.५५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१४ अंकले बढेको नेप्सेले जनाएकाे छ।
यसदिन कारोबार रकम आइतबारकाे भन्दा घटेकाे छ। उक्त दिन ९ अर्ब बढीको शेयर काराेबार भएकाे थियाे । आज कुल ३२४ कम्पनीहरुकाे ७८ हजार ८४८ पटकको कारोबार हुँदा रुपैयाँ ८ अर्ब ६८ करोड ९३ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ७५ लाख १ हजार कित्ता शेयर किनबेच भएकाे छ।
नेप्से उकालाे लाग्दा लगानीकर्ताहरु जलविद्युत र अन्य उपसमूहका कम्पनीहरुमा आकर्षित भएका देखिएकाे छ । १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको नेप्सेले जनाएकाे छ।
जलविद्युततर्फ २.३५ प्रतिशत र अन्य उपसमूहको २.६३ प्रतिशतले बढेको छ। साेमबार ८३ जलविद्युत कम्पनीहरु र अन्य उपसमूहमा रहेका ६ कम्पनीहरुको शेयरमूल्य बढेकाे छ भने दुई उपसमूहको परिसूचकमा पनि सकारात्मक दवाव पुगेकाे हाे ।
लगानी उपसमूहको परिसूचक १ प्रतिशत बढी बढेको छ। होटल तथा पर्यटन, जीवन बीमा र व्यापार उपसमूहको परिसूचक घटेको छ ।
१० कम्पनीहरुको शेयरमूल्य बढेकाे सूची हेर्दा तिनमा अधिकांश जलविद्युत कम्पनीहरु छन्। मकर जितुमाया सुरी हाइड्रोपावर, पियोर इनर्जी, दोल्ती पावर कम्पनी र विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेकाे छ। बुटवल पावर कम्पनी र माया खोला हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशत बढीले बढेको छ। कारोबारमा सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ७.४७ प्रतिशत घटेको देखिएकाे छ।
कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी शीर्ष स्थानमा पुगेकाे छ। कम्पनीको ६१ करोड २६ लाख ७१ हजार रुपैयाँबराबरको शेयरकाे काराेबार भएकाे छ। युनिभर्सल पावर कम्पनीको साढे ५४ करोड तथा बुटवल पावर कम्पनीको ५१ करोड बढीकाे काराेबार भएकाे छ।
























