
बोगोटा, २५ जेठ । कोलम्बियाका दक्षिणपन्थी विपक्षी सिनेटर तथा आगामी वर्षको राष्ट्रपति चुनावका उम्मेदवार शनिबार बोगोटामा भएको चुनावी कार्यक्रममा गोली लागेपछि गहन उपचार कक्षमा रहेको अधिकारीहरूले बताएका छन् ।
सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा ३९ वर्षीय मिगुएल उराइबले अचानक गोली चल्दा धेरै मानिसको अगाडि भाषण दिँदै गरेको देखिन्छ । अन्य तस्बिरहरूमा उहाँ रगतले लतपतिएको अवस्थामा सेतो कारको बोनटमा ढलेको र पुरुषहरूको समूहले उहाँलाई सम्हालेको देखिन्छ ।
मिडियाका अनुसार संदिग्ध बन्दुकधारी एक किशोरलाई पक्राउ गरिएको छ । महान्यायाधिवक्ता लुज एड्रियाना कामार्गोले काराकोल रेडियोलाई उराइब ‘गहन उपचार कक्षमा’ रहेको बताउनुभयो । स्थानीय मिडियाका अनुसार कम्तीमा एउटा गोली सिनेटरको घाँटी वा टाउकोमा लागेको छ ।
वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोको सरकारले राजधानीको पश्चिममा चुनावी अभियानका क्रममा उराइबमाथि भएको आक्रमणको ‘स्पष्ट र कडा’ निन्दा गरेको छ । “हिंसाको यो कार्य उहाँको व्यक्तित्वमाथि मात्र नभएर लोकतन्त्र, विचारको स्वतन्त्रता र कोलम्बियामा राजनीतिको वैधानिक अभ्यासमाथिको आक्रमण हो”, राष्ट्रपति कार्यालयले विज्ञप्तिमा भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1



























