
इफोटाका (मेडागास्कर), ३१ असोज । जलवायु परिवर्तन, लामो खडेरी र अन्तर्राष्ट्रिय सहायता कटौतीका कारण भोकमरीको चपेटामा परेको दक्षिणी मेडागास्करमा एल निनोको सम्भावित प्रभावले सङ्कट थप गहिरिने चिन्ता बढेको छ ।
कुपोषणबाट प्रभावित बालबालिका खाद्य सहायताको प्रतीक्षामा छन् भने आगामी महिनामा खडेरी बढ्ने चेतावनी दिइएको छ । इफोटाका सहरस्थित विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को केन्द्रमा दर्जनौँ बालबालिका खानाका लागि पर्खिरहेका थिए । सन् २०२१–२०२२ को भोकमरीपछि स्थापना गरिएको उक्त केन्द्रमा पिठोको लिटो पकाइँदै थियो ।
संयुक्त राष्ट्रसङ्घले त्यसअघिको भोकमरीलाई जलवायु परिवर्तनसँग सम्बन्धित विश्वकै पहिलो सङ्कट भनेको थियो । त्यही बेला कुपोषित दुई वर्षीय बालकको मृत्युको खबर पाएपछि एक कर्मचारी भावविह्वल भएका थिए । विश्व मौसम विज्ञान सङ्गठनले अक्टोबरदेखि सुरु हुने एल निनोका कारण दक्षिणी अफ्रिकामा खडेरीको जोखिम बढ्ने चेतावनी दिएको छ ।
अभिलेखमा सबैभन्दा शक्तिशालीमध्ये पर्ने अनुमान गरिएको यस मौसमी घटनाले ब्राजिलदेखि भारतसम्मका देशलाई पनि प्रभावित गर्न सक्छ । मेडागास्करमा भने अन्तर्राष्ट्रिय सहायता कटौती र मध्यपूर्वको युद्धका कारण बढेको महँगीले खाद्य सङ्कट थप गम्भीर बनाएको छ ।





























