

पोखरा, २४ असार । “सिप सिकौँ, आत्मनिर्भर बनौँ” भन्ने मूल नाराका साथ पोखराकाे विराैटामा रहेकाे घले हस्तकला उद्याेग तथा प्रशिक्षण केन्द्रमा सञ्चालित ३ दिने मैनबत्ती बनाउने तालिम बुधबार एक विशेष कार्यक्रमका बीच सम्पन्न भएको छ।
पोखरा महानगरपालिका १७ नं. वडा कार्यालय र कास्की पोखरा हस्तकला संघ, पोखराको संयुक्त आयोजनामा असार २२ गतेदेखि सुरु भएको उक्त तालिम बुधबार समापन भएको हो।

कास्की पोखरा हस्तकला संघकी अध्यक्ष सीता गुरुङको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १७ की वडा अध्यक्ष राधिका कुमारी शाही प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहीले महिला तथा स्थानीय नागरिकलाई आर्थिक रूपमा सबल बनाउन सीपमूलक तालिमको ठूलो महत्त्व रहने बताउनुभयो।
सिकेको सीपलाई केवल कोठा र प्रमाणपत्रमा मात्र सीमित नराखी व्यवहारमा उतारेर व्यवसायिक बन्न र आत्मनिर्भरता तर्फ कदम चाल्न उहाँले सहभागीहरूलाई आग्रह गर्नुभयो। वडा कार्यालयले स्थानीयको रोजगार र आयआर्जनलाई ध्यानमा राख्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा बोल्दै महिला उद्यमी संघ कास्कीकी प्रथम उपाध्यक्ष बालकुमारी गुरुङ, वडा सदस्य तारा परियार, वडा सचिव सुरेन्द्र शर्मा र तालिमकी संयोजक रितु घलेले हस्तकलाका माध्यमबाट महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउन सकिने धारणा राख्नुभयो। उहाँहरूले महिलाहरू अर्थआर्जनको बाटोमा उभिन र आत्मनिर्भर बन्नका लागि यस प्रकारका तालिम कोशेढुङ्गा सावित हुने उल्लेख गर्दै सिकेको सीपलाई व्यावसायिक रूपमा अगाडि बढाउन आवश्यक रहेकोमा जोड दिनुभयो।
त्यसैगरी तालिमका प्रशिक्षक लक्ष्मी गुरुङ तथा प्रशिक्षार्थीद्वय विष्णु परियार र सानुमाया सुनारले तालिमको अनुभव र उपयोगिताबारे आफ्ना भनाइहरू राख्नुभएको थियो।
प्रशिक्षार्थीहरूले तीन दिनको अवधिमा धेरै उपयोगी र आकर्षक बुट्टाहरू भएका मैनबत्ती बनाउन सिकेको र यसलाई आगामी दिनमा आयआर्जनको माध्यम बनाउने विश्वास व्यक्त गरे।
पोखरा-१७, विरौटास्थित घले हस्तकला प्रशिक्षण केन्द्रमा सञ्चालन भएको उक्त समापन कार्यक्रमको सञ्चालन वसन्त केसीले गर्नुभएको थियो। तालिममा वडाका स्थानीय महिलाहरूको उत्साहजनक सहभागिता रहेको थियो।





























