
पोखरा, २२ असार । नेपालकै पहिलो होटल म्यानेजमेन्ट कलेज, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (NTHMC), पोखरा-१४ छिनेडाँडामा आजदेखि हस्पिटालिटी क्षेत्रमा दिगोपन र वातावरणीय सचेतना प्रवर्द्धन गर्ने उद्देश्यका साथ पाँच दिने विशेष तालिम सुरु भएको छ।
‘DIGO’ को आयोजना तथा ‘Swisscontact’, ‘SHL’ (Schweizerische Hotelfachschule Luzern) र ‘United Community Nepal’ को सहकार्यमा “Train-the-Trainer (TTT) programme for Green Skills in Jobs in Hospitality” नामक उक्त प्रशिक्षक प्रशिक्षण कार्यक्रम संचालन गरिएको हो। आज जुलाई ६ देखि सुरु भएको यो तालिम आगामी जुलाई १० (असार २६) सम्म चल्नेछ।
तालिममा पोखराको पर्यटन तथा आतिथ्य (हस्पिटालिटी) क्षेत्रका लब्धप्रतिष्ठित एवं सिनियर व्यक्तित्वहरूको उत्साहजनक सहभागिता रहेको छ। पर्यटन क्षेत्रलाई पर्यावरणमैत्री र दिगो बनाउन आवश्यक पर्ने दक्ष जनशक्ति तयार पार्ने उद्देश्यले यो कार्यक्रम डिजाइन गरिएको हो।
यस पाँच दिने कोर्स अन्तर्गत मुख्य गरी तीनवटा विषयवस्तुमा केन्द्रित रहेर प्रशिक्षण दिइनेछ:
- दिगो खाद्य तथा पेय पदार्थ सञ्चालन (Sustainable F&B Operations): यस अन्तर्गत एउटा विधामा रेस्टुरेन्ट सेवा (सर्भिस प्रविधि र बार) र अर्को विधामा किचन (भान्छा व्यवस्थापन, पोषण तथा खाद्य भण्डारण) समेटिनेछ। साथै सरसफाइ, सूक्ष्म जीवविज्ञान (Microbiology) र HACCP का सिद्धान्तबारे अभ्यास गराइनेछ।
- हरित अभ्यास तालिम (Green Practices Training): यस सत्रमा दिगो आतिथ्य सत्कार, स्रोतको दक्षतापूर्ण उपयोग, फोहोरमैला व्यवस्थापन (Waste Management) र पर्यावरणमैत्री हाउसकिपिङका विषयमा विस्तृत प्रशिक्षण दिइनेछ।
- दिगो अतिथि अनुभव र सञ्चार (Sustainable Guest Experience & Communication): जसमा पाहुनाहरूलाई दिगो बसाइको अनुभव गराउने, समस्या समाधान गर्ने र सेवा पुनर्स्थापना (Service Recovery) का कलाहरू सिकाइनेछ।
पोखराको पर्यटन बजारलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार ‘ग्रीन’ र पर्यावरणमैत्री दिशामा अगाडि बढाउन यो तालिमले महत्त्वपूर्ण कोसेढुङ्गा साबित हुने अपेक्षा राखिएको छ।

कलेजका अध्यक्ष अशोक पालिखे
कलेजका अध्यक्ष अशोक पालिखेले एनटिएचएमसिमा यस्तो तालिम गर्न पाउनु सुखद् पक्ष भएको बताउनु भयो ।
हस्पिटालिटि क्षेत्रमा अब्बल कसरी बन्ने र समग्र पोखराको पर्यटनको लागि अझैं राम्रो कसरी गर्न सकिन्छ भनेर लागिरहेको बताउनु भयो ।
यो तालिम दोश्रो संस्करणको भएको र निकट भविष्यमा ५ सय जनालाई तालिम दिने योजनामा रहेको बताउनु भयो ।

प्रिन्सिपल प्रकाश रेग्मी
कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले १८० वर्षको हस्पिटालिटि क्षेत्रको अनुभव भएको स्वीस कलेजका ट्रेनरबाट पोखरामा तालिमको जोहो गर्न पाउनु ठूलो कुरा भएको र तालिमका सहभागिले भ्यालुएवल सर्टिफिकेट पाउनु महत्वपूर्ण पक्ष भएको बताउनु भयो ।
उहाँले ग्रिन टुरिजम तथा सस्टेनेबल टुरिजममा राम्रो प्रभाव पर्ने बताउनु भयो । उहाँले भन्नुभयो, अब पाँच दिनमा प्राप्त गर्ने ज्ञानलाई आआफ्नो क्षेत्रमा गएर अरुहरुलाई सिकाउनु तपाँइकाे दायित्व पनि हो । यसो भयो भने हामी अरु प्रदेशका लागि रोल मोडलको रुपमा स्थापित हुनेमा शंका छैन ।
होटल एशोसिएशन पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदी
कार्यक्रममा होटल एशोसिएशन पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले तालिम हस्पिटालिटि क्षेत्रका लागि महत्वपूर्ण भएको र पोखराको पर्यटनलाई गुणस्तरिय बनाउन सहयोगि हुने बताउनु भयो । उहाँले भन्नुभयो, हिप्पि टुरिजमबाट सुरु भएको पर्यटनको विकासमा नयाँ आयामहरु थपिदै जाँदा अब हामी हरित पर्यटन तथा दीगो पर्यटनका लागि अग्रसर भईरहेका छौं । यसमा एनटिएचएमसिले ठूलाे भूमिका खेलेको छ ।
कार्यक्रममा तालिमका विषयवस्तुका बारेमा दीगो परियोजनाका निर्देशक सागर चापागाईले जानकारी गराउनु भएको थियो । युनिकोनका विनोद न्यौपानेले पाँच दिनको तालिमका प्रशिक्षार्थीबाट निकट भविष्यमा संचालन गर्न लागिएको तालिमबाट पाँच सय दक्ष जनशिक्त तयार हुने बताउनु भयो ।
प्रशिक्षक बर्न हार्ट
तालिमका प्रशिक्षक बर्न हार्टले पाँच दिनको तालिमले पोखराको मात्रै नभई नेपालको पर्यटनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो । उहाँले झण्डै दुई सय वर्ष देखिको स्वीस पर्यटनमा भएकाे प्रगितकाे अनुभव पनि बाँड्ने र पर्यावरणीय हिसाबले संभावनायुक्त नेपालमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयाे । कार्यक्रम एक्जाम काेअर्डिनेटर शुरेस राज अधिकारीले सञ्चालन गर्नुभएकाे थियाे ।


























