
बेइजिङ, २२ असार । चीनले सोमबार प्रशान्त महासागरमा रणनीतिक आणविक पनडुब्बीबाट क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि गरेको छ । परीक्षणअघि नै क्षेत्रका केही राष्ट्रलाई जानकारी गराइएको भए पनि यस कदमले जापानसहितका देशहरूको चिन्ता बढाएको छ र दक्षिण प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैन्य उपस्थितिमाथि नयाँ बहस सुरु भएको छ ।
चिनियाँ नौसेनाका प्रवक्ता वाङ सुएमेङका अनुसार स्थानीय समयअनुसार दिउँसो १२ः०१ बजे पिपुल्स लिबरेसन आर्मी नेभीको रणनीतिक आणविक पनडुब्बीबाट प्रशिक्षण प्रयोजनका लागि सिमुलेटेड वारहेड बोकेको रणनीतिक क्षेप्यास्त्र प्रक्षेपण गरिएको थियो । क्षेप्यास्त्र तोकिएको समुद्री क्षेत्रमा सफलतापूर्वक खसेको उहाँले बताउनुभयो । यो चीनको वार्षिक सैन्य प्रशिक्षण कार्यक्रमअन्तर्गतको नियमित अभ्यास भएको र सम्बन्धित राष्ट्रहरूलाई पूर्वसूचना दिइएको पनि उहाँको भनाइ छ ।
प्रक्षेपण भएको दिन नै चीन र रुसले पूर्वी चीनको प्रमुख नौसैनिक बन्दरगाह छिङदाओबाट संयुक्त वार्षिक नौसैनिक अभ्यास पनि सुरु गरेका छन् । यद्यपि उक्त क्षेप्यास्त्र परीक्षण संयुक्त अभ्यासकै हिस्सा थियो वा थिएन भन्नेबारे बेइजिङले स्पष्ट पारेको छैन । जापानले भने परीक्षणको निन्दा गर्दै चीनलाई यस्तो कदम पुनर्विचार गर्न आग्रह गरेको जनाएको छ । पपुवा न्यू गिनीका विदेशमन्त्री जस्टिन टाकाचेन्कोले आफूलाई चिनियाँ राजदूतमार्फत परीक्षणबारे अग्रिम जानकारी दिइएको पुष्टि गर्नुभएको छ ।
न्युजिल्यान्ड सरकारको एक स्रोतले पनि चीनले सम्भावित अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणबारे जानकारी गराएको बताएको छ, यद्यपि क्षेप्यास्त्र खस्ने स्थान खुलाइएको थिएन । बेइजिङले पछिल्ला वर्षहरूमा आणविक हतियार र सैन्य क्षमता तीव्र रूपमा विस्तार गर्दै आएको छ । अमेरिकी रक्षा मन्त्रालयका अनुसार सन् २०२३ सम्म चीनसँग ५०० भन्दा बढी आणविक हतियार थिए भने सन् २०३० सम्म त्यो सङ्ख्या एक हजारभन्दा बढी पुग्न सक्ने अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1





























