
काठमाडौं, ७ असोज। सरकारले विज्ञापन बोर्डको अध्यक्ष पदमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को गत असोज २ गते बसेको बैठकको निर्णयअनुसार काठमाडौँ महानगरपालिका–१४ निवासी श्रेष्ठलाई बढीमा चार वर्षको पदावधिका लागि उक्त जिम्मेवारी सुम्पिएको हो।
नवनियुक्त अध्यक्ष श्रेष्ठले आजै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।
शपथ ग्रहण समारोहमा बोल्दै सञ्चारमन्त्री डा. तिमिल्सिनाले विज्ञापन क्षेत्रको नियमन, व्यवस्थापन र सुधारका लागि परिणाममुखी ढङ्गले काम गर्न नयाँ नेतृत्वलाई निर्देशन दिनुभयो। उहाँले विज्ञापन बोर्डको वर्तमान अवस्था, चुनौती र सम्भावनाको वस्तुनिष्ठ समीक्षा गर्दै सुधारका स्पष्ट योजनासहित अघि बढ्न आग्रह गर्नुभयो।
विद्यमान कानुनको प्रभावकारी कार्यान्वयन नहुनु मुख्य चुनौती रहेको औँल्याउँदै मन्त्री तिमिल्सिनाले भन्नुभयो, “लोककल्याणकारी विज्ञापन वितरणलाई वैज्ञानिक, पारदर्शी र विधिसम्मत बनाउन आवश्यक छ। महालेखापरीक्षकको कार्यालयले समेत यसमा प्रश्न उठाउँदै आएकाले सार्वजनिक स्रोतको पारदर्शी र प्रभावकारी उपयोग सुनिश्चित गरिनुपर्छ।”
सो क्रममा नवनियुक्त अध्यक्ष श्रेष्ठले विज्ञापन सम्बन्धी नीति, ऐन तथा नियमको प्रभावकारी कार्यान्वयनलाई प्राथमिक तामा राख्ने प्रतिबद्धता जनाउनुभयो। सुशासन र सहज सेवा प्रवाहलाई केन्द्रमा राखेर कार्ययोजना बनाउने र विज्ञापन क्षेत्रको सुधारका लागि सक्रिय भई लाग्ने उहाँले बताउनुभयो।
नेपाल विज्ञापन सङ्घ (आन) का पूर्वअध्यक्षसमेत रहनुभएका श्रेष्ठसँग विज्ञापन तथा सञ्चार क्षेत्रको लामो अनुभव छ। उहाँले काठमाडौँस्थित किङ्गस कलेज र डनबस्को कलेज लगायतका शैक्षिक संस्थाहरूमा प्राध्यापन समेत गर्नुभएको छ।
























