
तेहरान, ९ असार । अमेरिका–इरान युद्ध अन्त्य गर्ने उद्देश्यले स्विट्जरल्यान्डमा सम्पन्न वार्तापछि इरानले रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण मानिने हर्मुज जलघाँटी आफ्नो प्रशासनिक नियन्त्रणमा रहने घोषणा गरेको छ ।
इरानका प्रमुख वार्ताकार तथा संसद् अध्यक्ष मोहम्मद बाघेर घालीबाफले युद्धअघि जस्तो अवस्था अब कहिल्यै नफर्कने र अन्तर्राष्ट्रिय कानूनअनुसार हर्मुज इरानद्वारा नै प्रशासित हुने बताउनुभयो । स्विट्जरल्यान्डको बर्गनस्टक रिसोर्टमा अमेरिका र इरानबीच भएको वार्तापछि तेहरान फर्कनुभएका घालीबाफले वार्ताबाट सकारात्मक उपलब्धि हासिल भएको दाबी गर्नुभयो ।
उहाँले हर्मुज जलघाँटी, लेबनानको अवस्था, इरानी तेलमा दिइने छुट तथा रोक्का गरिएका सम्पत्ति फुकुवाका विषयमा महत्त्वपूर्ण प्रगति भएको बताउनुभयो । इरान र संयुक्त राज्य अमेरिका सोमबार हर्मुज जलघाँटी खुला राख्ने, समुद्री मार्गको सुरक्षा सुनिश्चित गर्ने तथा लेबनानमा जारी द्वन्द्व अन्त्यका लागि सञ्चार संयन्त्र स्थापना गर्न सहमत भएका थिए ।
मध्यस्थकर्ताहरूका अनुसार मध्यपूर्वमा फैलिएको तनाव कम गर्न दुवै पक्षबीच प्रत्यक्ष सम्पर्कको व्यवस्था गर्ने समझदारी पनि भएको छ । घालीबाफले भिडियो सन्देशमार्फत आफूहरू अझै प्रक्रियाको प्रारम्भिक चरणमै रहेको उल्लेख गर्दै कूटनीतिक प्रयास निरन्तर जारी रहने बताउनुभयो । उहाँका अनुसार यो यात्रा विशेषगरी जलघाँटीको व्यवस्थापन, लेबनानको अवस्था, तेल कारोबार र आर्थिक विषयमा उपयोगी साबित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1




























