
सुराबाया, १८ साउन । इन्डोनेसियाको जाभा टापुनजिक आइतबार यात्रुवाहक फेरिमा आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने ३९ जना बेपत्ता भएका छन् । उद्धारकर्मी तथा घटनास्थल आसपास रहेका जहाजहरूले २२७ यात्रु र चालक दलका सदस्यको उद्धार गरेका छन् । इन्डोनेसियाको राष्ट्रिय खोज तथा उद्धार निकाय (बासारनास)का अनुसार ‘मुतियारा सेन्टोसा–२’ फेरि पूर्वी जाभाको सुराबायाबाट दक्षिण सुलावेसीको मकासारतर्फ जाँदै थियो ।
सुमेनेप जलक्षेत्रमा बिहान ६ः०० देखि ७ः०० बजेको बीचमा आगलागी हुँदा फेरिमा २३२ यात्रु, ३९ चालक दलका सदस्य तथा १८१ सवारीसाधन, जसमा अधिकांश ट्रक र एउटा एक्साभेटर थिए । बासारनासका अनुसार फेरि सञ्चालक कम्पनी ‘पीटी एटोसिसम लाम्पुङ पेलायारन’ले घटनाको करिब एक घण्टापछि सुराबाया खोज तथा उद्धार कार्यालयलाई जानकारी गराएको थियो । कम्पनीले कप्तानबाट मादुरा टापुको उत्तरी क्षेत्रमा जहाजमा आगलागी भएको सूचना प्राप्त गरे पनि त्यसपछि सम्पर्क विच्छेद भएको जनाएको छ ।
अधिकारीले बिहान ९ः४५ बजे फेरिलाई बुरुआन सापुडी टापुभन्दा करिब १९ नटिकल माइल उत्तरमा रहेको पत्ता लगाएका थिए । ज्वलनशील पदार्थ बोकेको ‘मेराटस प्रोजेक्ट–३’ कार्गो जहाजले घटनास्थलबारे जानकारी गराए पनि सुरक्षा जोखिमका कारण आगलागी भएको फेरिनजिक पुग्न सकेन । राष्ट्रिय खोज तथा उद्धार निकायले सार्वजनिक गरेको भिडियोमा फेरिबाट बाक्लो कालो धुवाँ निस्किएको र जहाजको ठूलो भाग आगोले ढाकिएको देखिएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा लाइफ ज्याकेट लगाएका यात्रु उद्धारको प्रतीक्षामा डेकमा भेला भएको तथा केही यात्रु समुद्रमा हामफालेको देखिन्छ । विज्ञप्तिअनुसार बिहान १० बजेनजिक एउटा टगबोट र त्यस क्षेत्रबाट गुज्रिरहेका अन्य जहाज घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेका थिए ।आइतबार साँझसम्म पाँच जनाको शव फेला परेको, २२७ जनाको उद्धार गरिएको र ३९ जना अझै बेपत्ता रहेको बासारनासले जनाएको छ । आगलागीको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको छ ।




























