तेहरान, २ असार । अमेरिका–इरान सम्झौतापछि विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल ढुवानी मार्ग हर्मुजको जलघाँटी पुनः सञ्चालनतर्फ अघि बढेको सङ्केत देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबारसम्म उक्त सामरिक जलमार्ग ‘पूर्ण रूपमा खुला’ हुने बताउनुभएसँगै यसले मध्यपूर्व युद्ध अन्त्यतर्फको सम्झौतापछि ऊर्जा बजारमा आशा जगाएको छ ।

ट्रम्पका अनुसार जहाजहरू पहिले नै हर्मुज हुँदै आवागमन गर्न थालेका छन् र तेलले भरिएका ट्याङ्करहरू सुरक्षित रूपमा क्षेत्र पार गरिरहेका छन् । उहाँले पछि प्रतिक्रिया दिँदै उक्त मार्ग खुला राख्न ‘ठूलो अतिरिक्त सहयोग आवश्यक नपर्ने’ सङ्केत गर्नुभयो । तीन महिनासम्म चलेको द्वन्द्वपछि वासिङ्टन र तेहरानबीच भएको सहमतिलाई विश्व अर्थतन्त्रका लागि महत्त्वपूर्ण मोडका रूपमा हेरिएको छ ।

फेब्रुअरीको अन्त्यमा इरानमा भएको अमेरिका–इजरायली आक्रमणपछि उत्पन्न तनावका कारण विश्व बजार अस्थिर बनेको थियो । सम्झौताको खबर सार्वजनिक भएसँगै विश्व बजारमा सकारात्मक प्रतिक्रिया देखिएको छ । वाल स्ट्रिटको डाउ जोन्स सूचकाङ्क ऐतिहासिक उचाइमा पुगेको छ भने कच्चा तेलको मूल्य करिब पाँच प्रतिशतले घटेको छ, जसले ऊर्जा आपूर्ति सहज हुने अपेक्षा बढाएको छ ।

इरानी सञ्चारमाध्यमका अनुसार सोमबार साँझ केही तेल ट्याङ्कर र मालवाहक जहाजहरू विवादित जलमार्ग हुँदै अघि बढेका थिए । युद्ध सुरु भएदेखि इरानले हर्मुज मार्ग अवरुद्ध गरेको आरोप लाग्दै आएको थियो, जसले विश्व तेल बजारमा ठूलो मूल्यवृद्धि र आपूर्ति सङ्कटको डर बढाएको थियो ।

यसैबीच, अमेरिका, इरान र मध्यस्थकर्ता पाकिस्तानले शुक्रबार स्विट्जरल्यान्डमा औपचारिक शान्ति सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेको जनाइएको छ । यद्यपि केही अमेरिकी अधिकारीहरूले कागजातमा इलेक्ट्रोनिक हस्ताक्षर भइसकेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0