काठमाडौं ११ साउन। लामो पर्खाइपछि काठमाडौंसँगको आवागमनलाई सहज र द्रुत बनाउने राष्ट्रिय गौरवको आयोजना नागढुंगा सुरुङमार्ग आज (साउन ११ गते, सोमबार) देखि औपचारिक रूपमा सञ्चालनमा आउँदैछ। सुरुङमार्गको निर्माण कार्य पूर्ण रूपमा सम्पन्न भएसँगै आज बिहान ११ बजे एक औपचारिक कार्यक्रमका बीच यसको उद्घाटन गरिँदैछ। भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का प्रमुख लगायतका उच्च पदस्थ अधिकारीहरूको उपस्थितिमा सुरुङमार्गको उद्घाटन हुने कार्यक्रम तय भएको छ। काठमाडौंको टोटेपाखादेखि धादिङतर्फको सिस्नेखोला जोड्ने कुल २ हजार ६ सय ८० मिटर लम्बाइको यो सुरुङमार्ग राजधानी प्रवेश गर्ने र बाहिरिने सवारी साधनका लागि प्रयोगमा ल्याइनेछ। वि.सं. २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको यो आयोजना जापानी ठेकेदार कम्पनी ‘हाज्मा आन्दो जेभी’ ले निर्माण गरेको हो। साढे तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको भए पनि विभिन्न प्राविधिक तथा बाह्य कारणले चार पटकसम्म म्याद थप गरी आयोजना सम्पन्न गरिएको हो। कुल २२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनाको अन्तिम लागत भने ३० अर्ब रुपैयाँ नाघेको छ। जसमा जाइकाको २२ अर्ब ऋण सहयोग र बाँकी रकम नेपाल सरकारले व्यहोरेको छ।

उद्घाटन लगत्तै केही सवारीलाई मात्र प्रवेश, कसरी तिर्ने शुल्क?

सुरुङमार्ग सञ्चालनमा आए पनि सुरुवाती चरणमा अत्यावश्यक र चारपाङ्ग्रे सवारी साधनलाई मात्र प्रवेश अनुमति दिइने भएको छ। मोटरसाइकल, पेट्रोल ट्याङ्कर, र ग्यास बुलेटजस्ता जोखिमयुक्त तथा प्रज्वलनशील मालबाहक सवारी साधनलाई भने तत्कालका लागि प्रवेश निषेध गरिएको छ। सुरुङमार्ग प्रयोग गरेबापत सवारी साधनहरूले ‘टोल बुथ’ मा अनिवार्य रूपमा शुल्क बुझाउनुपर्नेछ। शुल्क भुक्तानी प्रक्रियालाई स्वचालित र प्रविधिमैत्री बनाउन एन-ट्याग (RF-ID) स्टिकर प्रणाली लागू गरिएको छ। सम्बन्धित बैंकमार्फत प्राप्त हुने उक्त स्टिकर सवारीमा टाँसी व्यालेन्स लोड गरेपछि सुरुङमार्ग प्रवेश गर्दा सिस्टमले स्वतः शुल्क काट्ने व्यवस्था मिलाइएको छ।

सवारी अनुसारको शुल्क विवरण:

सुरुङमार्ग प्रयोग गर्दा काठमाडौं भित्रिने र बाहिरिने सवारीका लागि छुट्टाछुट्टै दररेट निर्धारण गरिएको छ:
सवारी साधनको प्रकार काठमाडौं भित्रिँदा (शुल्क) काठमाडौंबाट बाहिरिँदा (शुल्क)
कार, भ्यान, पिकअप र जीप रु. ६५ रु. ६०
मिनीबस, मिनी ट्रिपर र ट्याङ्क रु. ११५ रु. ८०
ठूला बस र ठूला ट्रक रु. २६० रु. २००
मल्टी एक्सेल ट्रक र भारी उपकरण रु. ६०० रु. २५०
सुरुङमार्ग औपचारिक रूपमा सञ्चालनमा आएसँगै नागढुंगाको वर्षौँदेखिको सास्तीपूर्ण ट्राफिक जाम हट्ने र समय तथा इन्धनको बचत भई काठमाडौंको यातायात आवगमनमा ठूलो राहत पुग्ने विश्वास लिइएको छ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0