
काठमाडौं, १ असार । फिफा विश्वकप फुटबल प्रतियोगिता, २०२६ अन्तर्गत आज भएको खेलमा चार पटकको विश्वकप विजेता जर्मनीले कुराकाओलाई पराजित गरेको छ ।
अमेरिकाको ह्युस्टन रङ्गशालामासम्पन्न समूह ‘इ’को खेलमा जर्मनीले क्यारेबियन राष्ट्र कुराकाओलाई ७–१ गोलअन्तरले पराजित गरेको हो । जर्मनीले पहिलो हाफमा तीन गोल र दोस्रो हाफमा चार गोल ग¥यो । जर्मनीका लागि काई हाभाट्र्जले दुई तथा फेलिक्स एनमेचा, निको स्लोटरबेक, जमाल मुसिएला, नाथनियल ब्राउन र डेनिज उन्डाभले समान एक–एक गोल गरे ।
एनमेचाले खेलको छैटौँ मिनेटमै गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको २१औँ मिनेटमा कुराकाओका लिभानो कोमेनेन्सियाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । जर्मनीका निको स्लोटरबेकले खेलको ३८औँ मिनेटमा गोल गर्दै खेललाई २–१ को अग्रता बनाए ।
खेलको पहिलो हाफको अत्तिरिक्त समयमा हाभाट्र्जले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ३–१ को अग्रता बनाए । जर्मनीका लागि मुसिएलाले खेलको ४७औँ मिनेटमा गोल गर्दा ब्राउनले ६८औँ मिनेटमा अर्को गोल थपे ।
त्यस्तै ७८ औँ मिनेटमा उन्डाभले गोल गरे भने काई हाभाट्र्जले खेलको ८८ औँ मिनेटमा अर्को गोल थपे । यस जितसँगै जर्मनीले शीर्ष तीन अङ्क जोडेको छ ।
























