पोखरा, २७ जेठ । “सिप सिकौँ, आत्मनिर्भर बनौँ” भन्ने मूल नाराका साथ पोखरामा बुधबारदेखि ३ दिने मैनबत्ती बनाउने तालिम सुरु भएको छ। पोखरा महानगरपालिका वडा नम्बर १७ र कास्की पोखरा हस्तकला संघको संयुक्त आयोजनामा उक्त तालिम सुरु भएको हो।

पोखरा-१७, विरौटास्थित घले हस्तकला प्रशिक्षण केन्द्रमा सञ्चालन भइरहेको यस तालिम जेठ २७ गतेदेखि २९ गतेसम्म चल्नेछ । तालिममा विभिन्न आकर्षक बुट्टा, फूल, तथा कलात्मक आकृतिका मैनबत्तीहरू बनाउन सिकाइने भएकाे छ ।

तालिमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि एवं पोखरा महानगरपालिका वडा नं. १७ की अध्यक्ष राधिका कुमारी शाहीले महिलाहरू आर्थिक रूपमा सक्षम नभएसम्म समाजको वास्तविक विकास नहुने बताउनुभयो।

उहाँले स्थानीय सरकार महिलाहरूलाई आत्मनिर्भर बनाउन र उनीहरूको व्यावसायिक क्षमता विकासका लागि सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्दै तालिममा सिकेको सिपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो।

कार्यक्रममा वडा सदस्य तारा परियारले यस्ता सिपमूलक तालिमले महिलाहरूको आत्मविश्वास बढाउने र घरमै बसेर पनि आयआर्जन गर्न मद्दत पुग्ने धारणा राख्नुभयो।

कास्की पोखरा हस्तकला संघकी अध्यक्ष तथा स्वस्तिक हस्तकला उद्योग, पोखरा १ बागबजारकी सञ्चालक सीता गुरुङले हस्तकलाका सामग्रीहरूको बजारमा राम्रो माग रहेको चर्चा गर्दै मैनबत्ती उत्पादनलाई व्यावसायिक रूप दिन संघले आवश्यक सहयोग र बजारीकरणमा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यस्तै, संघकी उपाध्यक्ष गोमा ढकालले महिलाहरूले फुर्सदको समयलाई उत्पादनशील कार्यमा लगाउनुपर्नेमा जोड दिनुभयो। उहाँले आफु सक्षम भए अरुकाे हात थाप्न नपर्ने बताउनु भयाे ।

महिला उद्योग संघ गण्डकीकी अध्यक्ष पार्वती पौडेलले उद्योग र व्यवसायमा महिलाहरूको सहभागिता बढाउन यस्ता तालिम कोसोढुङ्गा साबित हुने बताउँदै उत्पादित सामग्रीको गुणस्तरमा ध्यान दिन सहभागीहरूलाई सुझाव दिनुभयो।

महिलाहरूलाई स्वरोजगार बनाई आर्थिक रूपमा सबल बनाउने उद्देश्यका साथ सुरु भएको यस तालिममा स्थानीय ४९ जना महिला दिदीबहिनीहरूको उत्साहजनक सहभागिता रहेको छ।

यसअघि कार्यक्रमका सहभागिहरुलाई उपाध्यक्ष गाेमा ढकालले स्वागत गर्नुभएकाे थियाे । अध्यक्ष सीत गुरुङकाे अध्यक्षतामा भएकाे कार्यक्रम सचिव पम्फा थापाले सञ्चालन गर्नुभएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0