
पोखरा, १७ जेठ । वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी नारायण कार्की आगामी स्थानीय तहको निर्वाचनमा सीमान्तकृत र पिछडिएका महिलाहरूको सहभागिता सुनिश्चित गराउन सञ्चार माध्यमहरूले दबाबमूलक र सचेतनामूलक भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ ।
संकल्प गण्डकीद्वारा आज पाेखरामा आयोजित ‘आगामी स्थानीय तहको निर्वाचनमा सीमान्तकृत महिलाको सहभागिता बढाउनका लागि मिडियाको भूमिका’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
संविधान संशोधनको चर्चा चलिरहेको वर्तमान अवस्थालाई उल्लेख गर्दै उहाँले महिलाहरूको जनसंख्याको अनुपातका आधारमा प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा पूर्ण र समानुपातिक प्रतिनिधित्व हुनुपर्ने आवाज उठाउनु पर्ने बताउनुभयो ।
महिला महिलाबीच मात्रै प्रतिस्पर्धा गराउने व्यवस्थाको प्रस्ताव
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका कार्कीले महिला सहभागितालाई वास्तविक रूपमा प्रभावकारी बनाउन निर्वाचन प्रणालीमा नयाँ बहसको आवश्यकता औंल्याउनुभयो। पुरुष र महिलाबीच प्रतिस्पर्धा गराउँदा अझै पनि पितृसत्तात्मक सोचका कारण महिलाहरू पछि पर्ने गरेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, हाम्रो सोच र प्रवृत्ति अझै पनि पुरुष प्रधान छ। त्यसैले प्रत्यक्ष निर्वाचन प्रणालीमा महिला र पुरुषबीच मात्र होइन, कतिपय क्षेत्रमा महिला महिलाबीच मात्रै प्रतिस्पर्धा गराउने कानुनी वा संवैधानिक व्यवस्था गर्नुपर्छ। यसो गर्दा जुनसुकै दल वा स्वतन्त्र रूपबाट आए पनि सीमान्तकृत र योग्य महिलाहरू नै नेतृत्वमा पुग्ने निश्चित हुन्छ।
मिडिया र संघ संस्थामा व्यावहारिक परिवर्तनको खाँचो
आफूले लामो समय सञ्चारमा काम गर्दा र बीबीसी लगायतका संस्थामा रहँदा महिला तथा सीमान्तकृत वर्गको उत्थानका लागि पैरवी गरेको स्मरण गर्दै कार्कीले अब पत्रकारिता क्षेत्रले पनि आफ्नो आन्तरिक संरचनामा सुधार गर्नुपर्ने बताउनुभयो। मिडिया हाउसहरूले पत्रकारहरूको भर्ना प्रक्रियादेखि नै महिला र पिछडिएका वर्गलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो।
आर्थिक अभाव र अशिक्षाको दुष्चक्र तोड्न आवश्यक
सीमान्तकृत महिलाहरू समाजमा दोहोरो चेपुवामा परेको चर्चा गर्दै उहाँले आर्थिक अभाव, अशिक्षा र चेतनाको कमीका कारण उनीहरू अझै पनि मूलधारमा आउन नसकेको बताउनुभयो। यो विशेष दुष्चक्रबाट मुक्ति पाउनका लागि राज्यले विशेष प्राथमिकताका कार्यक्रमहरू ल्याउनुपर्ने र स्वयं महिलाहरू तथा उनीहरूका परिवार पनि यस चक्रलाई तोड्न सक्रिय हुनुपर्नेमा उहाँले जोड दिनुभयो।
नारी र पुरुषको समान विकास र सहभागिता विना समतामूलक समाज र देशको समग्र विकास सम्भव नहुने स्पष्ट पार्दै उहाँले यस्ता मुद्दाहरूलाई मिडियाले निरन्तर उजागर गरिरहनुपर्ने सुझाव दिनुभयो।
कार्यक्रममा वरिष्ठ पत्रकार, प्रेस स्वतन्त्रता सेनानी माधव शर्मा, प्रेस काउन्सिलका निवर्तमान सदस्य केशवशरण लामिछाने, पत्रकार महासंघ गण्डकीका उपाध्यक्ष माधव रेग्मी, महासचिव जमुना शर्मा ‘वर्षा’, भरत कोईराला लगायतले दलित, उत्पिडित, पिछडिएका, समावेसि सहभागिता, जनजाती तथा सबै समुदायका महिलाको प्रतिनिधित्वको सुनिश्चिततामा हुनुपर्नेमा जोड दिनुभयो ।
साथै उहाँहरुले संचार माध्यम अहिले संकटको अवस्थामा रहेको र सरकारले पनि आर्थिक सुविधाबाट बञ्चित गरेको पिडा भोग्न परिरहेको बताउनु भयो । तर पनि उहाँहरुले महिलाका मुद्धाहरुमा सजग रहेको, उठाउँदै आएको र भविष्यमा पनि स्थान दिईरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा डब्लु डब्लु जे की केन्द्रिय सदस्य दुर्गा अधिकारीले कर्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
यसअघि कार्यक्रममा सहभागि भएकाहरुलाई संकल्प गण्डकीकी उपाध्यक्ष मीलन भुजेलले स्वागत गर्नुभएको थियो भने संस्थाकी अध्यक्ष तथा अधिवक्ता सरिता तिमिल्सिना पगेनीको अध्यक्षतामा भएको थियो । सञ्चालन महासिचव ईश्वरी विकले गर्नुभएकाे थियाे ।

























