
नयाँदिल्ली, ७ पुस । बङ्गलादेशमा सन् २०२६ फेब्रुअरीमा हुने राष्ट्रिय निर्वाचनमा आफ्नो दल अवामी लिगलाई सहभागी हुन प्रतिबन्ध लगाइएपछि पूर्व प्रधानमन्त्री शेख हसिनाले कडा प्रतिक्रिया दिनुभएको छ । उहाँले अवामी लिगबिनाको चुनावलाई वास्तविक निर्वाचन नभई ‘राज्याभिषेक’ को संज्ञा दिनुभएको छ ।
विद्यार्थी नेतृत्वको विद्रोहपछि करिब एक वर्षअघि सरकारबाट अपदस्थ हुनुभएकी हसिनाले भन्नुभयो, “अवामी लिगबिनाको चुनाव चुनाव नै हुँदैन, त्यो राज्याभिषेक हो । अन्तरिम सरकारका प्रमुख मुहम्मद युनुसले जनताको मतविना शासन गरिरहनुभएको छ र लोकप्रिय जनादेशबाट नौ पटक निर्वाचित पार्टीलाई प्रतिबन्ध लगाउने प्रयास भइरहेको छ ।”
उहाँले ऐतिहासिक उदाहरण उल्लेख गर्दै बङ्गलादेशी जनताले आफ्नो मनपर्ने दललाई मतदान गर्न नपाए मतदान नै नगर्ने प्रवृत्ति रहेको बताउनुभयो । “यदि यो प्रतिबन्ध कायम रह्यो भने लाखौँ नागरिक प्रभावकारी रूपमा मताधिकारबाट वञ्चित हुनेछन् ।
यस्तो प्रक्रियाबाट बनेको सरकारसँग शासन गर्ने नैतिक अधिकार हुँदैन”, हसिनाको भनाइ छ । उहाँले राष्ट्रिय मेलमिलापको खाँचो रहेका बेला यस्तो कदम गम्भीर अवसर चुकाउनु सरह हुने उल्लेख गर्नुभयो ।


























