ब्रसेल्स, २७ मङ्सिर। युरोपेली सङ्घ (ईयु) ले शुक्रबार रूसी केन्द्रीय बैङ्कका सम्पत्ति कुनै पनि प्रकारले रूस फर्किन नदिने निर्णय गरेको छ । उक्त कदम युक्रेनमा जारी द्वन्द्वलाई दृष्टिगत गर्दै तत्काल लागू गरिएको हो ।

सङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “सङ्घको अर्थतन्त्रमा पर्ने नकारात्मक असर कम गर्न यो निर्णय तत्काल प्रभावका लागि गरिएको हो ।” निर्णय अनुसार, रूसी केन्द्रीय बैङ्कको सम्पत्ति पूर्ण रूपमा प्रतिबन्धित गरिएको छ । यसले रूसी बैङ्कको तर्फबाट वा निर्देशनमा कार्य गर्ने कुनै पनि व्यक्ति, संस्था वा निकायसँग सम्बन्धित लेनदेनलाई पनि समेट्छ ।

युरोपेली परिषद् अध्यक्ष एन्टोनियो कोस्टाले सामाजिक सञ्जालमा लेख्नुभयो,“अक्टोबरको परिषद् बैठकमा रूसी सम्पत्ति सुरक्षित राख्ने प्रतिबद्धता जनाइएको थियो र शुक्रबारको निर्णयले त्यस प्रतिबद्धता पूरा गरेको हो । विज्ञप्तिमा यो कदम अस्थायी भए पनि रूसलाई युक्रेनसँगको युद्धका लागि वित्तीय वा अन्य स्रोत उपलब्ध गराउँदा सङ्घको अर्थतन्त्रमा असर पर्न सक्ने अवस्थामा प्रतिबन्ध जारी रहने उल्लेख छ ।

यस निर्णयअनुसार करिब दुई लाख दस हजार करोड युरो मूल्यको सम्पत्ति लक हुनेछ । यसमा करिब एक लाख नव्वे हजार करोड युरो बेल्जियमस्थित वित्तीय संस्था युरोक्लियरमा सुरक्षित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0