

खोटाङ, १३ जेठः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बाँसजन्य सामग्री उत्पादन तथा प्रवद्र्धनको काम सुरु गरेको छ ।
बाँसबाट बन्ने विभिन्न प्रकारका घरेलु सामग्री उत्पादन गर्दै बजारीकरण गरेर नगरवासीको आयआर्जनमा वृद्धि गराउने योजनाका साथ नगरपालिकाले प्रवद्र्धनको काम सुरु गरेपछि उद्यमी उत्साहित बनेका छन् ।
बाँसजन्य सामग्री प्रवद्र्धन गर्ने उद्देश्यले नगरपालिकाको मुख्य आयोजनामा गत फागुनमा तीनदिने दिक्तेल बजारमा ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’ आयोजना गरिएको थियो । दिक्तेलस्थित माटीकोरे खेलमैदानमा गत फागुन १५ देखि १७ गतेसम्म सञ्चालन गरिएको राष्ट्रिय सम्मेलनमा देशभरिका बाँस उद्यमी तथा बाँससँग सम्बन्धित अनुसन्धानकर्तालगायत गरी ७१३ जना सहभागी भएका थिए
सम्मेलनले दिक्तेल बजारमा बाँसको सङ्ग्रहालय स्थापना गरेर खोटाङलाई ‘बाँसको राजधानी’का रुपमा पहिचान दिलाउन पहल गर्ने निर्णय गरेको छ ।
नगरपालिकाको आयोजनामा सम्पन्न प्रथम राष्ट्रिय बाँस सम्मेलनले जारी गरेको ३५ बुँदे ‘खोटाङ घोषणापत्र’मा यस्तो निर्णय समेटिएको हो ।
दिक्तेलमा बाँस अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्ने, पहिलो पटक राष्ट्रिय बाँस सम्मेलन सुरु भएको दिन फागुन १५ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय बाँस जागरण दिवस’ का रुपमा मनाउन पहल गर्ने, प्रत्येक तीन वर्षमा राष्ट्रिय बाँस सम्मेलन आयोजना गर्ने निर्णय गरिएको छ ।





















