ढाका, ८ मङ्सिर । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियालाई छातीमा सङ्क्रमणको समस्या देखिएपछि ढाकास्थित बसुन्धराको एभरकेयर अस्पतालमा भर्ना गरिएको छ ।

बङ्गलादेश न्युज २४ ले उहाँका वरिष्ठ चिकित्सकको भनाइ उद्धृत गर्दै उहाँलाई आइतबार राति स्वास्थ्य परीक्षणका लागि अस्पताल ल्याइएको र प्रारम्भिक जाँचपछि तुरुन्तै उपचार शुरु गरिएको बताएको छ । उहाँलाई अहिले निजी क्याबिनमा सघन चिकित्सा निरीक्षणका साथ राखिएको छ ।

मेडिकल बोर्डका सदस्य डा. एफ. एम. सिद्दीकीका अनुसार आगामी १२ घण्टा उहाँको स्वास्थ्यका दृष्टिले अत्यन्तै महत्त्वपूर्ण रहनेछ । उहाँले भन्नुभयो, “खालिदा जिया पछिल्ला केही महिनादेखि पटक–पटक अस्वस्थ बन्नुभएको छ । यसपालि विभिन्न स्वास्थ्य समस्या एकसाथ देखा परेकाले हामीले तुरुन्तै अस्पतालमा भर्ना गर्नुप¥यो ।” डा. सिद्दीकीका अनुसार पहिलेबाटै रहेको मुटुको समस्या र हालको छातीको सङ्क्रमणले उहाँको अवस्था थप जटिल बनाएको छ ।

“उहाँसँग स्थायी पेसमेकर छ, मुटुको स्टेन्टिङ भइसकेको छ र अहिले मुटु तथा फोक्सो दुवै प्रभावित भएकाले श्वासप्रश्वासमा गम्भीर समस्या देखिएको छ”, उहाँले स्पष्ट पार्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0