बेलेम (ब्राजिल), ७ मङ्सिर  । ब्राजिलको अमेजन क्षेत्रमा सम्पन्न संयुक्त राष्ट्र जलवायु शिखर सम्मेलन कोप–३० ले अन्ततः विश्वका करिब २०० राष्ट्रलाई एउटै सहमतिमा ल्याउन सफल भएको छ । यद्यपि, जीवाश्म इन्धनको भविष्यबारे अपेक्षित कडा प्रतिवद्धता भने दस्तावेजमा समावेश हुन नसकेकाले धेरै देशहरू असन्तुष्ट देखिए ।

दुई हप्तासम्म चलेको कठिन वार्ताका अन्तिम क्षणमा महासन्धि पारित भए पनि संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प वार्ताबाट अलग्गिएका कारण अमेरिकाको अनुपस्थिति स्पष्ट देखियो । शिखर वार्ताभर बेलेमले विशाल विरोध प्रदर्शन, आगलागी, सडक मार्च र उग्र नारा–जुलुसको वातावरण अनुभव गर्नुपरेपछि अन्तिम मोडमा सम्झौतामा हस्ताक्षर गरियो ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले यस सम्झौताले विभाजित विश्वले अझै पनि सङ्कटको क्षणमा एकता देखाउन सक्छ भन्ने प्रमाणित गरेको बताउँदै ‘बहुपक्षवादले जित हासिल गरेको दिन’ भएको टिप्पणी गर्नुभयो । दक्षिण अफ्रिकाबाट जी–२० शिखर सम्मेलनमा सहभागी भइरहनुभएका उहाँले अन्तर्राष्ट्रिय समुदायले ‘त्याग्ने कि निरन्तर प्रयास गर्ने’ विकल्पको सामना गर्दा ‘हामीले निरन्तरताको बाटो रोज्यौँ’ भनी जोड दिनुभयो ।

युरोपेली सङ्घ (इयु) का जलवायु प्रमुख वोप्के होक्सट्राले भने सम्झौता निकै अमूर्त भएको स्वीकार गर्दै ‘हामीले अपेक्षा गरेभन्दा धेरै पाउन चाहन्थ्यौँ, तर प्रक्रियालाई नै विफल हुनबाट बचाउन यही उत्तम विकल्प थियो’ भनेर प्रतिक्रिया दिनुभयो । चीनका प्रमुख प्रतिनिधि ली गाओले पनि चुनौतीपूर्ण परिस्थितिमा प्राप्त सहमतिलाई ‘अन्तर्राष्ट्रिय समुदायको सामूहिक इच्छाशक्तिको प्रतिफल’ भन्दै सफलताका रूपमा व्याख्या गर्नुभयो ।

ब्राजिल, भारत, चीन र दक्षिण अफ्रिकाजस्ता उदीयमान राष्ट्रहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सम्झौतालाई ‘अर्थपूर्ण’ रहेको प्रतिक्रिया दिए भने साना टापु राष्ट्रहरूको संस्था एओएसआइएसले यसलाई ‘अपूर्ण भए पनि आवश्यक प्रगति’ का रूपमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0