टोकियो, २३ कात्तिक । जापानमा आइतबार साँझ ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि उत्तरपूर्वी प्रशान्त तटमा सुनामीको चेतावनी जारी गरिएको छ । जापान मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार भूकम्प साँझ ५ः०३ बजे (०८०३ जिएमटी) इवाटे प्रान्तको समुद्री क्षेत्रमा केन्द्रित थियो ।

एजेन्सीले करिब एक मिटर (तीन फिट) उचाइको सम्भावित सुनामी आउन सक्ने चेतावनी जारी गर्दै तटीय क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन अनुरोध गरेको छ । संयुक्त राज्य अमेरिकाको भूवैज्ञानिक सर्वेक्षण (युएसजिएस) ले भने भूकम्पको तीव्रता ६.८ म्याग्निच्युड मापन गरेको जनाएको छ । जेएमएले इवाटे तटका लागि ‘सुनामी सल्लाह जारी गरिएको’ बताउँदै कुनै पनि क्षण समुद्री छालहरू तटीय क्षेत्रमा पुग्न सक्ने चेतावनी दिएको छ ।

यसैबीच, राष्ट्रिय प्रसारणकर्ता एनएचकेले अपतटीय क्षेत्रमा सानो सुनामी छालहरू देखिएको पुष्टि गर्दै जनतालाई समुद्र तटबाट टाढा रहन र उच्च स्थानमा सर्न आग्रह गरेको छ । जापानी टेलिभिजनहरूले प्रत्यक्ष प्रसारणमार्फत समुद्र अपेक्षाकृत शान्त देखिएको भए पनि अधिकारीहरूले सावधानी अपनाउन आग्रह गरेका छन् ।

यो क्षेत्र सन् २०११ को विनाशकारी ९.० म्याग्निच्युडको समुद्रमुनिको भूकम्पको पीडादायी स्मृतिले अझै त्रसित छ । उक्त भूकम्पले विशाल सुनामी निम्त्याएको थियो । त्यस विनाशकारी विपद्ले करिब १८ हजार ५०० मानिसको ज्यान लिएको वा बेपत्ता बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0