
बेइजिङ, १२ भदौ । संयुक्त राज्य अमेरिकाले इरानको अर्थतन्त्रलाई थप दबाबमा पार्ने तयारी गरे पनि चीनको सहयोगबिना तेहरानलाई प्रभावकारी रूपमा आर्थिक रूपमा अलग गर्न कठिन हुने विश्लेषकहरूले बताएका छन् । मध्यपूर्वमा युद्ध सुरु भएको करिब छ महिनापछि वासिङ्टनले इरानविरुद्ध प्रतिबन्ध विस्तार गर्ने तयारी गरेको छ ।
अमेरिकी अधिकारीहरूले इरानलाई सहयोग गर्ने राष्ट्र तथा संस्थामाथि समेत कारबाही गर्ने चेतावनी दिएका छन् । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले चीनलाई अमेरिकी अभियानमा सहकार्य गर्न आग्रह गर्नुभएको छ । तर चीनले तेहरानसँगको आफ्नो सहयोगको बचाउ गर्दै आफ्ना आर्थिक तथा रणनीतिक हितको रक्षा गर्ने स्पष्ट पारेको छ ।
आगामी सेप्टेम्बरमा चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राजधानीको भ्रमण गर्ने तयारी भइरहेका बेला इरानको विषयले चीन–अमेरिका सम्बन्धमा थप तनाव उत्पन्न गर्न सक्ने देखिएको छ । सिङ्गापुरस्थित नानयाङ टेक्नोलोजिकल युनिभर्सिटीका राजनीतिक वैज्ञानिक डिलन लोहका अनुसार इरानलाई पूर्ण रूपमा आर्थिक रूपमा अलग गर्न अमेरिकालाई चीनको सहयोग आवश्यक पर्नेछ ।
चीन इरानी तेलको प्रमुख खरिदकर्ता हो र दुई देशबीचको व्यापारको ठूलो हिस्सा चिनियाँ मुद्रा रेन्मिन्बीमा हुने भएकाले अमेरिकी प्रतिबन्धको प्रभाव सीमित गर्न सकिन्छ । युद्धअघि इरानले दैनिक लाखौँ ब्यारेल तेल निर्यात गर्ने गरेकोमा ठूलो हिस्सा चीन पुग्ने गरेको थियो ।
वासिङ्टनस्थित सेन्टर फर युरोपियन पोलिसी एनालिसिसका फेलो निनो लेजावाका अनुसार तेल इरानको प्रमुख आर्थिक आधार हो । चिनियाँ तेल खरिद घटे पनि त्यसबाट प्राप्त आम्दानी इरानका लागि महत्त्वपूर्ण रहेको फुदान विश्वविद्यालयका प्राध्यापक सन देगाङले बताउनुभयो ।



























