
टेक्सास, २१ कात्तिक । अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका सेयरधनीहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कका लागि ऐतिहासिक तलब प्याकेज स्वीकृत गरेका छन् ।
उक्त स्वीकृतिले टेस्लाले तय गरेका महत्त्वाकांक्षी आर्थिक लक्ष्यहरू पूरा गरेमा उहाँलाई विश्वको पहिलो खर्बपति बनाउने सम्भावना देखाएको छ । टेस्लाको वार्षिक सेयरधनी बैठक बिहीबार सम्पन्न भएको थियो । बैठकमा करिब ७५ प्रतिशतभन्दा बढी सेयरधनीले मस्कको स्टक–आधारित क्षतिपूर्ति योजनाको समर्थनमा मतदान गरे ।
परिणाम घोषणा भएपछि हल उत्साह र हर्षध्वनिले गुञ्जायमान भएको बताइएको छ । “म यो समर्थनका लागि अत्यन्त आभारी छु”, मस्कले मतदानपछि सेयरधनीहरू र टेस्लाको सञ्चालक मण्डललाई धन्यवाद दिँदै भन्नुभयो । धेरै सिइओहरूले जस्तो मासिक तलब वा बोनस नलिने मस्कको आम्दानी पूर्ण रूपमा कम्पनीका सेयर विकल्पहरूमा आधारित छ ।
नयाँ स्वीकृत प्याकेजअन्तर्गत टेस्लाले यदि ८५ खर्ब अमेरिकी डलरको बजार मूल्य हासिल गर्न सफल भयो भने उहाँलाई आगामी दशकमा ४२ करोड ३७ लाख टेस्ला सेयरहरू प्राप्त हुनेछ जसको मूल्य करिब १० खर्ब अमेरिकी डलर बराबर हुनेछ ।


























