
जेरुसेलम, २१ असोज । इजरायलले मङ्गलबार सन् २०२३ अक्टोबर ७ को भीषण हमास आक्रमणको दोस्रो वार्षिकोत्सव मनाउँदैछ । यसैबीच, अमेरिकाको प्रस्तावित शान्ति योजनाअन्तर्गत इजरायल र हमासका प्रतिनिधिहरू गाजा युद्ध अन्त्यका लागि इजिप्टमा अप्रत्यक्ष वार्तामा संलग्न भएका छन् ।
दुई वर्षअघि यहुदी पर्व सुक्कोटको अन्त्यमा हमासका लडाकूहरूले इजरायलमाथि आकस्मिक आक्रमण गरेका थिए । उक्त आक्रमणले इजरायलको इतिहासमै सबैभन्दा घातक दिन बनायो । लडाकूहरूले गाजा–इजरायल सीमा पार गरी दक्षिणी इजरायलका बस्तीहरू र मरुभूमि सङ्गीत महोत्सवमा बन्दुक, रकेट र ग्रेनेडले आक्रमण गरेका थिए । आधिकारिक तथ्याङ्कअनुसार उक्त आक्रमणमा एक हजार २१९ जना इजरायलीको मृत्यु भयो, जसमा अधिकांश नागरिक थिए ।
साथै, २५१ जना बन्धकलाई गाजामा लगिएको थियो, जसमा अझै ४७ जना कैदी छन् । तीमध्ये २५ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ । मङ्गलबार इजरायलभर स्मरण समारोहहरू आयोजना भएका छन् । नोभा सङ्गीत महोत्सवको स्थलमा मारिएका व्यक्तिहरूका आफन्त र मित्रहरूले मैनबत्ती बालेर श्रद्धाञ्जलि अर्पण गरे र मौन धारण गरे । त्यहाँ ३७० भन्दा बढी मानिस मारिएका थिए ।
शिक्षक एलाड गान्जले एएफपीसँग भावुक हुँदै भने, “यो अत्यन्त पीडादायी घटना हो, तर हामी जीवन अगाडि बढाउन चाहन्छौँ । जो यहाँ थिए र अब छैनन्, तिनीहरूको सम्झनासँगै बाँच्ने प्रयास गरिरहेका छौँ ।” तेल अभिवको ‘होस्टेज स्क्वायर’ मा पनि कार्यक्रम आयोजना हुँदैछ । त्यहाँ साप्ताहिक रूपमा बन्धकहरूको रिहाइको माग भइरहन्छ । यस्तै, राज्यद्वारा आयोजित मुख्य स्मरणोत्सव अक्टोबर १६ मा तय गरिएको छ ।


























