
नारायण शर्मा, नवलपरासी, २ असाेज । नवलपरासी पश्चिमको जिल्ला कारागार परासीबाट गत भदौ २५ गते भागेका ५ सय ७० जना कैदीबन्दीमध्ये बिहीबारसम्म १ सय ८६ जना मात्र फर्किएका छन् । गत भदौ २५ गते बिहान कारागारमा हुलदङ्गा र नाराबाजी गरेर त्यहाँ रहेका सबै ५ सय ७० जना कैदीबन्दी भागेका थिए ।
कारागारका सूचना अधिकारी जितेन्द्र चौधरीका अनुसार १ सय ७५ जना बन्दी अट्ने कारागारमा ५ सय ७० जना राखिएको थियो । क्षमता भन्दा चार गुणा बढी बन्दी राखिएको अवस्थामा हुलदङ्गा गरेर बन्दी फरार भएका थिए । गत भदौ २४ र २५ गते देशभरि जेन-जीको आन्दोलन हुँदा देशका विभिन्न कारागारबाट कैदीबन्दी भागेका थिए । कमजोर सुरक्षा व्यवस्था भएको मौकाको फाइदा उठाउँदै जिल्ला सदरमुकाम परासीका कैदीबन्दी गत २५ गते बिहानै भागेका थिए । कारागारमा बन्दी रहेका मध्ये धेरैजसो जबरजस्ती करणी र ठगी काण्डमा संलग्न रहेका थिए ।
कारागारमा २० जना सुरक्षाकर्मीको दरबन्दी रहेको छ । जेलमा त्यतिखेर हुलदङ्गा गरेर कैदीबन्दी फरार भएपछि नेपाली सेनाको टोली आएर हाल सुरक्षा दिइरहेको छ । फरार रहेका बन्दीहरूको घरघरमा सम्पर्क गरेर तत्काल कारागारमै फर्काउन उर्दी गरिएको चौधरीले जानकारी दिए ।
तत्कालीन केपी ओलीको प्रधानमन्त्री कालमा नेपालभर फेसबुकलगायतका सामाजिक सञ्जाल बन्द गरिएपछि १३ देखि २८ वर्ष उमेर समूहमा आबद्ध रहेका जेन-जी समूहले देशभर आन्दोलन गरेका थिए । त्यही आन्दोलनको क्रममा कमजोर सुरक्षा अवस्थाको फाइदा उठाउँदै देशभरिका कारागारबाट बन्दी भागेका थिए । फरार सबै बन्दीलाई तुरुन्तै कारागारमा फर्कन गृह मन्त्रालयले उर्दी गरेको छ ।


























