काठमाडौं, २४ भदौ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौं महानगरपालिकाका चक्रपथ क्षेत्रभित्र निषेधाज्ञा (कफ्र्यू) आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी छलिलाल रिजालद्वारा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज बिहान ८ः३० बजेदेखि अर्काे आदेश नभएसम्मका लागि कफ्र्यू आदेश जारी गरेका हुन्।

काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामङ्गल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलङ्की, बल्खु हुँदै वाग्मती नदी पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण भूभागमा कफ्र्यू आदेश जारी गरिएको हो ।

कफ्र्यू आदेशअनुसार काठमाडौं महानगरपालिकाका चक्रपथभित्र चारकिल्ला तोकी सो सीमाभित्र कुनै व्यक्तिले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउजस्ता गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ ।

कास्कीमा आज बिहान ८.०० बजेदेखि निषेधाज्ञा जारी

 

कास्की जिल्ला प्रशासन कार्यालयले आज बिहान ८.०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि जनाउँदै जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ ।

प्रशासनले शहिदचोक आसपासका क्षेत्र, पूर्वतर्फ वाइचोक, उत्तरपूर्वतर्फ मिलनचोक, पश्चिमतर्फ फिस्टेल गेट (वैदाम), उत्तरतर्फ मालपोत कार्यालय, दक्षिणतर्फ राष्ट्र बैंक चोक, दक्षिणपश्चिमतर्फ पर्यटन बोर्डको कार्यालय अगाडि ड्यामसाइड क्षेत्र तोकेर निषेधाज्ञा जारी गरेको हो ।

त्यस्तै गण्डकी प्रदेशसभा आसपासको क्षेत्र उत्तरतर्फ भीमकाली पाटन बगर, दक्षिणतर्फ अधिकारी टोल, पूर्वतर्फ नदीपुर हाइवे र पश्चिमतर्फ बागबजार ट्याक्सीचोकसम्म निषेधाज्ञा जारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जारी गरेको निषेधाज्ञामा उक्त क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।

यस अवधिमा यस आदेशको उल्लङ्घन गर्ने वा आदेशको पालना गर्ने÷गराउने कार्यमा अवरोध गर्ने जोसुकैउपर प्रचलित कानुनबमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0