पाेखरा, २४ साउन । जिल्ला प्रहरी कार्यालय कास्कीले रु ११ करोड मूल्य बढिका सुनचाँदीको गरगहनासहित ११ जना पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा प्रहरीले चलाएको ‘अप्रेसन यल्लो मेटल’ मार्फत चिप्लेढुंगादेखि तेर्सापट्टि, भैरव टोल, मोहोरियाटोलसम्म छापा मार्ने क्रममामा उनीहरुलाई पक्राउ गरिएको हो ।

‘अप्रेसन यल्लो मेटल’ मार्फत ६ किलो ४०० ग्राम सुन, ४४४ तोला ७३।९ लाल चाँदीसँगै ५ लाख १४ हजार ६६५ रुपैयाँ नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले बताए ।

उनका अनुसार बरामद सुनचाँदीको शनिबारको बजार मूल्य अनुसार ११ करोड १० लाख ५३ हजार रुपैयाँ हाराहारी पर्छ। भारत महाराष्ट्रका ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगताप ११ तोला २०।६ लाल सुन, २९६ तोला ३३ लाल चाँदी र नगद १ लाख ६० हजार ५०० रुपैयाँसहित पक्राउ परेका हुन्।

कलकत्ताका ४५ वर्षीय मनिकलाल आदकबाट १३ तोला १७ लाल सुन र १० तोला ५५ लाल चाँदी बरामद गरिएको हो। हुग्लीका ३५ वर्षीय सन्दीप ढावसँग ३ तोला ८ लाल सुन बरामद भयो। पश्चिम बंगालका ४१ वर्षीय सोमनाथ पालसँग १२ तोला १२।७ लाल सुन र ९ तोला ५९।४ लाल चाँदी बरामद भएको छ।

कलकत्ताका ४७ वर्षीय दीपक सामन्तसँग ३८ तोला ५ लाल सुन र ३० तोला ११ लाल चाँदी फेला परेको कास्की प्रहरी प्रमुख ओलियाले बताए। उनका अनुसार मेद्नापुरका ४७ वर्षीय गोविन्दा दिण्डाको साथबाट मात्र २ सय १० तोला ८९ लाल सुन बरामद गरिएको छ। कलकत्ता हाउडाका ३५ वर्षीय असित वरको साथबाट ८६ तोला ८७।१ लाल सुन र ३१।५ लाल चाँदी बरामद भएको छ। कलकत्ता पश्चिम मेद्नापुरका ४४ वर्षीय तापस सामन्तबाट २४ तोला १५ लाल सुन, मेद्नापुरका ३८ वर्षीय उज्वल भोमिकसँग ५ तोला ४६।९ लाल सुन बरामद गरिएको छ।

महाराष्ट्र पुनेकी ४० वर्षीया सुनिता पवारको घरबाट २ तोला ५० लाल सुन र ९३ तोला ६१ लाल चाँदी फेला परेको छ। ४९ वर्षीय प्रोभास माझीको साथबाट ८८ तोला ३१ लाल सुन र नगद १ लाख ८५ हजार फेला पर्‍यो। सन्जय ढावबाट १३ तोला ५८ लाल सुन, ४ तोला २३ लाल चाँदी र नगद १ लाख ६९ हजार १५५ रुपैयाँ बरामद भएको छ।

पक्राउ परेकाहरु १५ देखि ३० बर्षसम्म पोखरामा बसेर सुनचाँदीका काम गर्दै आइरहेका हुन्। पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि बरामद गरिएको सामग्रीसहित राजस्व अनुसन्धान कार्यालय, बुटवल पठाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0