
नारायण शर्मा, २१ साउन । लमजुङको बेसींसहरमा कार्यालय रहेको सुनौलो भविष्य बचत तथा ऋण सहकारी संस्थाका १७ जना सञ्चालकविरुद्ध लमजुङ प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । लमजुङ जिल्ला अदालतको अनुमतिमा प्रहरीले सहकारी ठगीसम्बन्धी मुद्दामा वर्तमान अध्यक्ष ऋषिराम अधिकारीसहितलाई पक्राउ पुर्जी जारी गरेको हो ।
संस्थामा सञ्चालकहरूले बचतकर्ताको ६ करोड ५४ लाख रुपैयाँ हिनामिना गरेको भन्दै सहकारी रजिस्ट्रारको कार्यालय पोखराको प्रतिवेदनमा उल्लेख छ । सहकारीले भारतीय नागरिकलाई समेत २५ लाख ऋण लगानी गरेको कार्यालय स्रोतले जनाएको छ । उक्त प्रतिवेदनसहितको पत्र, जाहेरी, पीडित बचतकर्ताको दरखास्तलगायत कागजातको आधारमा प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो ।
प्रहरीले सहकारी संस्थाका तत्कालीन व्यवस्थापक, अध्यक्ष तथा लेखा समितिका पदाधिकारी पदमबहादुर रावतविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । उनी बेसींसहरस्थित मस्र्याङ्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख हुन् ।
तत्कालीन उपाध्यक्ष अरुणकान्त घिमिरे, तत्कालीन सचिव शंकर न्यौपाने, तत्कालीन कोषाध्यक्ष किशोरकुमार बस्नेतलगायत १७ जनाविरुद्ध साउन ५ गते पक्राउ पुर्जी जारी गरिएको हो । सहकारीका लेखा समिति सदस्य विजेन्द्र थापाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ । उनी सुन्दरबजार नगरपालिका–८ का वडाध्यक्ष हुन् ।
प्रहरीले पक्राउ पुर्जी जारी नगरेको भनी आलटाल गर्दै आएको छ । पक्राउ पुर्जी जारी गर्न अदालतले अनुमति दिएको १५ दिन बितिसक्दा पनि लमजुङ प्रहरीले कुनै पनि आरोपितलाई पक्राउ गरेको छैन । पक्राउ पुर्जी जारी भएकाहरू बेँसीसहर बजारमा दिनहुँ हिँडडुल गरिरहे पनि प्रहरीले नदेखेझैँ गरेको स्थानीयले बताए।
जिल्ला प्रहरी प्रमुख डीएसपी रेशम बोहराले पक्राउ पुर्जी जारी भएकाहरूलाई कानुनअनुसार पक्राउ गरिने बताए । मुद्दा दर्ता भएको छ, सहकारीको कुरा हो, पीडितले रकम पाउने वातावरण बनोस् भन्ने हो, पक्राउ नगर्ने त कुरै छैन, उनले भने । उनका अनुसार सहकारीको मुद्दा प्रक्रियामा गएपछि टुंगोमा पुग्न समय लाग्छ ।
सहकारी रजिस्ट्रारको कार्यालयले औँल्याएका विषयहरू छन् । पीडितले बचत पाउने अवस्था हो भने मुद्दा मामिला त छँदैछ, उनले भने । उनले आरोपितहरू ढिलोचाँडो पक्राउ पर्ने बताए ।
भोटेओडार र चितीमा सम्पर्क कार्यालयसमेत सञ्चालन गरेको सुनौलो भविष्य बचत तथा ऋण सहकारीका सञ्चालक समितिले नक्कली ऋणी बनाएर ऋण लगानी गरेकोसमेत खुलेको सहकारी रजिस्ट्रार कार्यालयले जनाएको छ । पदाधिकारी र सदस्यहरू आफैंले कमसल धितो राखेर लिएको कर्जा नतिरेका कारण सहकारी डुबेको सहकारी रजिस्ट्रार कार्यालय पोखराका प्रमुख भेषराज रिजालले बताए । उनका अनुसार कार्यालयले २०८१ असोज २९ गते नै छानबिन सकेको थियो ।
कार्यालयले वित्तीय विश्लेषक निर्मल गौतमलाई खटाएर प्रतिवेदन तयार पारेको थियो । कार्यालयले गत असार १९ गते सहकारी ठगीको प्रतिवेदन जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो । त्यसको १७ दिनपछि प्रहरीले साउन ४ गते मुद्दा दर्ता गर्दै साउन ५ गते पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरीले पक्राउ पुर्जी जारी नभएको भन्दै ढाँट्दै आएको थियो ।






















