
पोखरा, २१ साउन । नेपाल सरकार कानुन तथा संसदीय मन्त्रालयले मुलुकी अपराध संहियतालाई संशोधन गर्न ल्याएको बहुविवाह गर्न पाउने प्रस्तावित मस्यौदा प्रति नेपाली काँग्रेस गण्डकी प्रदेश महिला विभागको ध्यानाकर्षण भएको जनाएको छ ।
विभागद्धारा पोखरामा आयोजित महिलाहरुको बिशेष भेलाले नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मामार्फत ध्यानाकर्षण पत्र हस्तान्तरण गरिएको छ ।
सो पत्रमा महिलाहरुको आत्मसम्मानमा ठेस पुर्याउने गरि अझै पनि दोस्रो दर्जाको नागरिकको रुपमा घचेट्ने अभिप्रायले सरकारले बहुविवाह गर्न पाउने सम्बन्धि कानुन प्रस्तावित मस्यौदालाई अगाडि नबढाउन चेतावनी दिएको छ ।
सो पत्र बुझ्दै सभापति शर्माले ज्ञापनपत्रमा उल्लेख भएका बिषयलाई सम्बन्धित ठाउँमा पुर्याउने बताए। प्रजातन्त्रमा सबै नागरिक समान हुने र कसै माथि विभेद नहुने स्पष्ट पारे । संसार चलाउन भगवानले लिङ्गको आधारमा महिला र पुरुष भनिएको उनले बताए। शरीर महिला हो भने पुरुष आत्म हो भन्ने भनाई राखे ।
उक्त कार्यक्रममा काँग्रेस गण्डकी प्रदेशका उपसभापति कल्पना तिवारीले महिला नै काँग्रेस संगठनको मुल आधार भएको बताइन्।
त्यसैगरी अर्का उपसभापति मेखलाल श्रेष्ठले महिलाहरुलाई अझ सशक्त बनाई राजनीति मुलधारमा ल्याउन आवश्यक रहेको बताए। महामन्त्री विष्णु लामिछानेले सवल संगठनको पहिलो आधार काँग्रेसभित्र महिला विभाग रहेको बताए।
पार्टी प्रवक्ता मधु बास्तोलाले नेपाली काँग्रेसमा मात्र समानुपातिक, समावेशीतालाई पहिलो मान्यता दिने भएकाले महिलाहरुलाई राजनीतिमा आउन उत्प्रेरित गरे।
गण्डकी प्रदेश महिला विभाग प्रमुख शकुन्तला शर्माले कार्यक्रमको अध्यक्षता गर्दै सरकारले ल्याउन थालेको विधेयकको विरोध गरिन्। प्रदेशका ११ जिल्लाका महिला प्रतिनिधिहरुको सहभागिता रहेको सो कार्यक्रममा मनोनित गरिएका महिला विभागका सदस्यहरुलाई प्रमाण–पत्र प्रदान गरियो । सहभागी महिला एवं विभागका प्रमुखहरुले नेपाली काँग्रेसको संगठन र भावी कार्यदिशा बारे बोलेका थिए ।























