
काठमाडौं, २६ असार । साताको शेयर काराेबार हुने अन्तिम दिन बिहिबार पनि नेपाली शेयर बजारमा सकारात्मक लय देखिएकाे छ । नेप्सेले यसदिन पनि बुधबारकै बढेकाे लयलाई पछ्याएकाे छ ।
नेप्से परिसूचक २५.८९ अंकले बढेर २७३१.८० विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स ७.५५ अंकले बढेको छ । फ्लोट इण्डेक्स २.२७ अंकले बढेकाे छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स २.६७ अंकले बढेको नेप्सेले जनाएकाे छ।
बिहिबार कारोबार रकममा पनि बृद्धि भएकाे छ। अघिल्लाे दिन बुधबार ७ अर्ब बढीको काराेबार भएकाेमा बिहिबार ३१२ वटा कम्पनीहरुकाे ८८ हजार ६१५ पटक शेयर कारोबार हुँदा रुपैयाँ ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार बराबरको २ करोड ६४ लाख ७० हजार कित्ता शेयर किनबेच भएकाे छ।
माइ खोला हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा बढी ८.१५ प्रतिशतले बढेको छ। माण्डु हाइड्राेपावर, समता लघुवित्त वित्तीय संस्था र भगवती हाइड्राेपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य साढे ६ प्रतिशत बढीले बढेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ९.९२ प्रतिशतले घटेको छ।
काराेबारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट अगाडी रहेको छ। कम्पनीको ५७ करोड ५ लाख ७७ हजार रुपैयाँ बराबरको शेयर काराेबार भएकाे छ। बुटवल पावर कम्पनीको साढे ३२ करोडभ बढी र सानिमा बैंकको २६ करोड बढीको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये ११ वटा उपसमूहहरुमा हरियाे लागेकाे छ । २ उपसमूहमा राताे लागेकाे छ। बैंकिङ्ग उपसमूहको परिसूचक ३.०२ प्रतिशतले बढेको छ। विकास बैंक र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ। व्यापार र जलविद्युत उपसमूहको परिसूचकमा भने सामान्य गिरावट भएकाे छ।
























