
याङ्गुन, १२ असार । म्यान्मारको जुन्टा प्रमुखले आगामी डिसेम्बर र जनवरीमा निर्वाचन गर्ने योजना बनाएको बताउनुभएको छ ।
सन् २०२१ मा म्यान्मारको नागरिक सरकारलाई सत्ताच्युत गरेको सेनाले निर्वाचन गर्ने तयारी भइरहेको जनाएको हो । निर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता हातमा लिएपछि म्यान्मामा सेनाप्रति बफादार (जुन्टा) सरकार र प्रजातन्त्र र स्वतन्त्रताका लागि सङ्घर्षरत दल तथा समूहबीच गृहयुद्ध निम्त्याएको थियो । जुन्टा सरकारले शान्तिको मार्गको रूपमा आफ्नो चुनावी योजनालाई अगाडी सारेको हो ।
पूर्ववर्ती सरकारका सदस्यहरू थुनिएका, विपक्षी समूहहरूले मतदान बहिष्कार गर्ने र जुन्टा विरोधी विद्रोहीहरूको नियन्त्रणमा रहेको देशको विशाल भूभागमा जुन्टा सरकारको नेतृत्वमा निष्पक्ष निर्वाचन असम्भव भएको पर्यवेक्षकहरूले बताएका छन् भने विपक्षी समूहहरूले निर्वाचन बहिष्कार गर्ने बताइरहेका छन् ।
म्यान्माको सरकारी अखबार ‘द ग्लोबल न्यू लाइट अफ म्यान्मार’का अनुसार जुन्टा प्रमुख मिन आङ ह्लाइङले बुधबार राजधानी नेपिडोमा आयोजित एक सम्मेलनमा ‘यस वर्षको डिसेम्बर र अर्को वर्षको जनवरीमा निर्वाचन हुने’ बताउनुभएको हो ।
जुन्टाले चरणबद्ध रूपमा निर्वाचन गर्ने योजना बनाएको छ वा छैन भन्ने स्पष्ट भएको छैन । बुधबार म्यान्मारको मानवअधिकार स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिवेदक टम एन्ड्रुजले जुन्टाले ‘वैध नागरिक सरकार निर्माण गर्ने चुनावी अभ्यासको यो मृगतृष्णा सिर्जना गर्न खोजेको’ बताउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1





























