पोखरा, २३ असाेज। पोखरामा विद्यार्थी लिएर स्कुलतर्फ जाँदै गरेको कालिका बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ। दुर्घटनामा परी अन्य १४ जना घाइते भएका छन्।

प्रहरीका अनुसार मृत्यु हुनेमा ३ जना छात्रा, १ जना छात्र र लिफ्ट मागेर बसमा चढेका १ जना अभिभावक रहेका छन्। गण्डकी प्रदेशका डीआईजी दीपेन्द्र जीसीले ४ जना विद्यार्थी र १ जना अभिभावकको मृत्यु भएको पुष्टि गरे।

पोखरा–२८ स्थित विजयपुर सैनिक ब्यारेकबाट उत्तरतर्फ पर्ने माझथानानजिक विद्यार्थी बोकेर जाँदै गरेको ग २ ख १४१७ नम्बरको स्कुल बस सडकबाट करिब २०० मिटर तल भिरमा खसेर दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनाका घाइतेहरूलाई उद्धार गरी उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनास्थलमा उद्धारका क्रममा खटिएका एक प्रहरी जवानसमेत चिप्लिएर घाइते भएका छन्।

दुर्घटनाको थप विवरण :

पोखरा–२८ स्थित माझथानाबाट विद्यार्थी लिएर आउँदै गरेको कालिका बोर्डिङ स्कुलको ग २ ख १४१७ नम्बरको बस ओख्ले ओरालोमा दुर्घटनामा पर्दा उद्धार गरी अस्पताल पुर्याइएकामध्ये थप ३ जनाको मृत्यु भएको छ। घटनास्थलबाट १८ जनालाई उद्धार गरी पोखराका दुई अस्पतालमा पठाइएकोमा अस्पतालमा उपचारका क्रममा ३ जनाको मृत्यु घोषणा गरिएको हो।

प्रहरीका अनुसार घाइतेमध्ये ३ जनाको गण्डकी मेडिकल कलेज (GMC) र १५ जना (उद्धारमा खटिएका प्रहरी जवानसहित) को पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा उपचार भइरहेको छ।

अस्पताल पुर्याइएपछि चिकित्सकले मृत घोषणा गरेका तीन जनामा अंदाजी १२/१३ वर्षीया ममता तिवारी, अंदाजी १३/१४ वर्षका अशिम कँडेल र बसमा लिफ्ट मागेर सवार ६५ वर्षका बाबुराम तिवारी रहेका छन्।

अस्पतालमा उपचाररत घाइते तथा मृतक विवरण:

१. गण्डकी मेडिकल कलेज (GMC) मा उपचाररत (३ जना):

  • सृष्टि तिवारी (१६ वर्ष): पोखरा–२८ सौर्य (कक्षा १०) – टाउको, दायाँ कुम, कम्मर र दायाँ खुट्टामा चोट (अवस्था मध्यम, बोल्न सक्ने)।
  • शिसन थापा मगर (१६ वर्ष): पोखरा–२८ सौर्य (कक्षा १०) – टाउको, ढाड र दुवै हातमा चोट (अवस्था मध्यम)।
  • सौगात तिमिल्सिना (१६ वर्ष): पोखरा–२८ डाँडागाउँ (कक्षा १०) – टाउको, ढाड र दुवै खुट्टामा चोट (अवस्था मध्यम)।

२. पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (क्षेत्रीय अस्पताल) मा उपचाररत (१५ जना):

  • अस्मी कँडेल (१५ वर्ष): पोखरा–२८ – टाउको र ढाडमा चोट (अवस्था गम्भीर)।
  • स्नेहा गौतम (१४ वर्ष): पोखरा–२८ – टाउकोमा चोट (अवस्था मध्यम)।
  • सोनिया तिवारी (१३ वर्ष): पोखरा–२८ – टाउकोमा चोट (अवस्था मध्यम)।
  • अंकित पराजुली (१३ वर्ष): पोखरा–२८ – टाउकोमा चोट (अवस्था मध्यम)।
  • स्मृती खत्री (१५ वर्ष): मादी गाउँपालिका–१२ – टाउकोमा चोट (अवस्था मध्यम)।
  • स्नेहा तिवारी (१६ वर्ष): मादी–१२ – टाउकोमा चोट (अवस्था मध्यम)।
  • आकृती बुढाथोकी (१४ वर्ष): मादी–१२ – टाउकोमा चोट (अवस्था मध्यम)।
  • मेरिना तिवारी (१५ वर्ष): मादी–१२ – टाउकोमा चोट (अवस्था मध्यम)।
  • सुप्रिया आचार्य (१४ वर्ष): मादी–१२ – टाउकोमा चोट (अवस्था मध्यम)।
  • यमन मगर (१६ वर्ष): मादी–१२ – टाउकोमा चोट (अवस्था मध्यम)।
  • तुल बहादुर गुरुङ (५७ वर्ष – चालक): पोखरा–१५ – ढाड र छातीमा चोट (अवस्था मध्यम)।
  • नामथर नखुलेकी बालिका (अंदाजी १३/१४ वर्ष): अवस्था गम्भीर।
  • नामथर नखुलेकी बालिका (अंदाजी १३/१४ वर्ष): अवस्था गम्भीर।

अस्पतालमा मृत घोषणा गरिएका ३ जना:

  • ममता तिवारी (अंदाजी १२/१३ वर्ष): वतन नखुलेको (अस्पताल पुर्याइएपछि बिहान ०८:३५ बजे मृत घोषणा)।
  • अशिम कँडेल (अंदाजी १३/१४ वर्ष): वतन नखुलेको (अस्पताल पुर्याइएपछि बिहान ०८:३५ बजे मृत घोषणा)।
  • बाबुराम तिवारी (६५ वर्ष): पोखरा–२८ (लिफ्ट मागेर चढेका अभिभावक, अस्पतालमा बिहान ०८:३५ बजे मृत घोषणा)।

उद्धारका क्रममा घाइते प्रहरी:

  • प्रहरी जवान अर्जुन शाही (३१ वर्ष): इलाका प्रहरी कार्यालय शिशुवामा कार्यरत (संकेत नं. C-00134777) – उद्धारका क्रममा चिप्लिएर सामान्य घाइते, क्षेत्रीय अस्पतालमा उपचार भइरहेको।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0