
तेहरान, २२ असोज । मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलो पटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक विमान इरानमा अवतरण गरेको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार बिहीबार इराकको राष्ट्रिय ध्वजावाहक वायुसेवाको विमान राजधानी तेहरान पुगेको हो । अमेरिकाले इराकी वायुसेवालाई इरानमा उडान सञ्चालन गर्न प्रतिबन्धबाट विशेष छुट दिएपछि उक्त उडान सञ्चालन भएको हो ।
सरकारी टेलिभिजनले प्रसारण गरेको दृश्यमा इराकको नजफबाट उडेको विमान तेहरानस्थित इमाम खोमेनी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको देखाइएको छ । यो उडान यात्रु लिएर नजफदेखि तेहरान पुगेको र पुनः फर्किने सेवा रहेको जनाइएको छ । सरकारी टेलिभिजनका अनुसार विमान स्थानीय समयअनुसार बिहान ६ बजेर ५० मिनेटमा सुरक्षित रूपमा इमाम खोमेनी विमानस्थलमा अवतरण गरेको थियो ।
गत महिना इराकको यातायात मन्त्रालयले अमेरिकाले इराकी वायुसेवालाई इरानमा उडान सञ्चालनका लागि विशेष छुट दिएको जानकारी दिएको थियो । इराकी अधिकारीका अनुसार यो छुट मुख्यतः इरान र नजफबीच धार्मिक तीर्थयात्रीको आवतजावतका लागि लागू गरिएको हो । नजफ शिया मुस्लिम समुदायका लागि अत्यन्त महत्वपूर्ण धार्मिक स्थल हो ।
यसैबीच, इराकी सरकारले गत साता अमेरिकासँग भएको सहमतिअनुसार महन वायुसेवाबाहेकका इरानी वायुसेवा कम्पनीलाई नजफबाट दैनिक उडान सञ्चालन गर्न अनुमति दिइएको जनाएको थियो । यो घटनाक्रम अमेरिकाले इरानको हवाई उद्योगमाथि प्रतिबन्ध थप कडा बनाएको केही समयपछि आएको हो । अमेरिकी प्रतिबन्धका कारण प्रमुख इरानी वायुसेवा कम्पनीहरूले अन्तर्राष्ट्रिय उडान रद्द गर्नुपरेको थियो भने विभिन्न देशले समेत इरानी विमानमाथि उडान प्रतिबन्ध लगाएका थिए । गत सेप्टेम्बरको अन्त्यमा इरानले अमेरिकी प्रतिबन्धविरुद्ध संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनमा औपचारिक उजुरीसमेत दर्ता गराएको थियो ।
हाल इरानबाट बाहिरिने वा इरान प्रवेश गर्ने यात्रुका लागि छिमेकी टर्कीका गन्तव्यहरू प्रमुख हवाई विकल्प बनेका छन् । इरानी वायुसेवा कम्पनीहरूले अफगानिस्तान, पाकिस्तान, चीन, रुस, मलेसिया र थाइल्यान्डमा भने अझै उडान सञ्चालन गरिरहेका छन् । यसअघि इरानी वायुसेवाका लागि मध्यपूर्वको सबैभन्दा महत्वपूर्ण गन्तव्य मानिने संयुक्त अरब इमिरेट्सले भने इरानी वायुसेवाका उडानहरू निलम्बन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1



























