
काठमाडौं, ११ असाेज । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेका छन्। नेपाल प्रहरीको टोलीले उनलाई गएराति महाराजगन्जस्थित उनकै आफ्नै निवासबाट नियन्त्रणमा लिएको हो।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीका एक उच्च अधिकारीले जानकारी दिए। यद्यपि, उनीविरुद्ध कुन विषयमा उजुरी परेको हो भन्नेबारे विस्तृत विवरण भने प्रहरीले अझै सार्वजनिक गरेको छैन।
२०७५ साल पुस १८ गते सर्वोच्च अदालतको २८ औँ प्रधानन्यायाधीशका रूपमा कार्यभार सम्हालेका जबराविरुद्ध २०७८ फागुन १ गते प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता भएको थियो। महाभियोग प्रस्ताव दर्ता भएसँगै उनी पदबाट स्वतः निलम्बित भएका थिए।
संसद्मा दर्ता भएको महाभियोग प्रस्ताव पारित नभए पनि उनी त्यसपछि सर्वोच्च अदालत फर्किन पाएका थिएनन्। निलम्बित अवस्थामै उनको कार्यकाल समाप्त भएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
























