पोखरा, १० असोज । पोखराको न्यूरोडस्थित सिटिजन फर्निचरले दसैँतिहार अवसरमा छुट सुविधा दिएको छ । विगतका वर्षमा झैं यस वर्ष पनि विभिन्न फर्निचर एवं फर्निनिङका सामानमा २० देखि ३० प्रतिशतसम्म छुट सुविधा दिइएको संचालक दीपक कार्कीले जानकारी दिए ।
शनिबार शुभकामना आदानप्रदान एवं पत्रकार भेटघाटमा उनले यसबारे जानकारी दिएका हुन् । २०७० असार २६ देखि पोखरामा सिटिजन फर्निचर संचालन सुरु भएको हो । कम्पनीले न्यूरोड क्षेत्रमै मुख्य शोरुमसहित ४ आउटलेट संचालन गरेको छ । सिटिजन फर्निचरसहित सिटिजन फर्निसिङ सप्लायर्स संचालित छ ।
यसैगरी, सिटिजन फर्निचर एण्ड फर्निसिङ हव तथा अर्को सिटिजन कम्प्युटर एण्ड मेन्टिनेन्स पसल छ । यहाँ सोफा, दराज, अफिस टेबल, डाइनिङ टेबल, टि–टेबल, पर्दा, कार्पेट, कुर्सी, डोरमेट लगायत अफिस तथा घरायसी प्रयोजनका आवश्यक सामग्री उपलब्ध छन् ।
संचालक कार्कीका अनुसार सोफा मात्र २० हजारदेखि ५ लाखसम्मका छन् । उनले दसैँतिहार तथा छठ पर्वसम्म नै विभिन्न सामान खरिदमा छुट दिइएको बताए ।
युवा व्यवसायी कार्कीले सस्तोभन्दा पनि क्वालिटीको पछाडि लाग्न सम्पूर्ण ग्राहक महानुभावमा आग्रह गरे । नेपाल सरकारलाई कर बुझाएर वैधानिक ढंगले आफूहरुले संचालन गरेको हुँदा ढुक्क भएर सामान खरिद गर्न आग्रह गरे । उनले आफ्नो फ्याक्ट्रीमा जुनसुकै मोडलका सोफा, दराज बनाएर दिन सकिने जानकारी दिए । मार्केटको आवश्यकताअनुसार राम्रै लगानी गरिरहेको पनि उनी बताउँछन् ।
दर्ताबिना संचालित अनलाइन बिजनेस नियमन गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘मार्केटमा फेसबुक र टिकटकमा अलिकति ट्याक्कटुक्क पार्न सक्यो भने प्रलोभन पार्न सकिने रहेछ । तसर्थ नेपाल सरकारसँग दर्ता नभइकन संचालित अनलाइन बिजनेस नियमन गरिनुपर्छ । अहिले वारेन्टी वा ग्यारेन्टी दिने भनिन्छ, भोलि समाउन जाने कहाँ ?’
गण्डकी प्रदेश सरकारबाट युवा उद्यमीको रुपमा सम्मानित कार्की छोटो समयमै सफल उद्यमी बनेका छन् । सफल हुन कुनै पनि चिजमा निरन्तर लाग्नुपर्ने उनको सुझाव छ । चाउथेको फ्याक्ट्री र न्यूरोडका शोरुममा करिब २७० जनाले प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी पाएका छन् ।
सिटिजनले सामाजिक उत्तदायित्वका विभिन्न कार्यक्रममा पनि उस्तै सक्रियता देखाउँदै आएको छ । रसुवा बाढीपीडितको सहयोगार्थ सुरुमै १ लाख ११ हजार ११ रुपैयाँ राहत जम्मा गरेको सिटिजनले गत महिनामात्रै पाल्पाको ऐतिहासिक लाखे नाच देखाएको थियो ।
नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेलले हाम्रो देशको वनजंगल सदुपयोग गर्न सक्ने हो भने विदेशमा जाने पैसा रोकिने बताए । निजी क्षेत्रमाथि आक्रमण भइरहेको बेला एउटा युवा उद्यमीको उत्साहलाई हामीले सम्मान गर्नुपर्ने उनको भनाइ थियो ।
सो अवसरमा सिटिजन फर्निचरका अर्का संचालक गुरुदत्त पौडेलले कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद दिए । कार्यक्रम संचालन पाल्पाली समाजका प्रेस सल्लाहकार पत्रकार विजय नेपालले गरेका थिए ।