
न्युयोर्क, ५ असोज। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र चिनियाँ उपप्रधानमन्त्री हे लिफेङ नेतृत्वको टोलीबीच न्युयोर्कस्थित जेपी मोर्गन चेजको मुख्यालयमा करिब आठ घण्टा वार्ता भएको थियो । वार्तापछि बेसेन्टले व्यापार र एआईका विषयमा दुवै पक्षबीच ‘धेरै सफल संवाद’ भएको बताउनुभयो । उहाँका अनुसार प्रस्तावित ‘अमेरिका–चीन एआई संवाद’ अन्तर्गत एआईसँग सम्बन्धित सम्भावित घटना वा राष्ट्रिय सुरक्षासम्म पुग्न सक्ने जोखिमबारे एकअर्कालाई जानकारी गराउने संयन्त्र बनाइनेछ ।
दुवै पक्षले यस विषयमा थप छलफल गर्न सहमति जनाएका छन् । चिनियाँ सरकारी सञ्चारमाध्यमले वार्तालाई ‘स्पष्ट, गहन र रचनात्मक’ भनेको छ । सिन्ह्वाका अनुसार दुवै पक्षले द्विपक्षीय व्यापार र लगानी प्रवद्र्धन तथा अघिल्ला सहमतिहरू कार्यान्वयनलगायत विषयमा छलफल गरेका छन् । बैठकमा चिनियाँ अन्तर्राष्ट्रिय व्यापार प्रतिनिधि ली चेङ्गाङ पनि सहभागी हुनुहुन्थ्यो ।
वार्तामा केही वस्तुमा पारस्परिक शुल्क घटाउने तथा ‘गैर–संवेदनशील’ वस्तुलाई व्यापारसम्बन्धी प्रतिबन्धबाट अलग राख्ने विषयमा पनि छलफल भएको अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले बताउनुभयो । दुर्लभ पृथ्वीका चुम्बक र महत्त्वपूर्ण खनिजको आपूर्ति निरन्तर कायम राख्ने विषय पनि अमेरिकी पक्षको प्राथमिकतामा रहेको छ ।
यसअघि चीनले अमेरिकी कृषि सामग्री खरिद गर्ने प्रतिबद्धता जनाएको थियो । त्यसको कार्यान्वयन तथा इरानमाथि अमेरिकी आर्थिक दबाब पनि छलफलका विषय बन्न सक्ने बताइएको छ । यसैबीच, अमेरिकी पूर्व उपसचिव कर्ट क्याम्पबेलले ट्रम्प–सी शिखर बैठकबाट तत्काल ठूलो उपलब्धिको अपेक्षा गर्नुभन्दा व्यापार युद्धविराम कायम रहने सम्भावनालाई ध्यान दिनुपर्ने बताउनुभएको छ । ट्रम्प र सीले नोभेम्बरमा चीनको शेन्जेनमा हुने एपेक मञ्चमा तथा डिसेम्बरमा मियामीमा हुने जी–२० शिखर सम्मेलनमा भेट गर्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1



























