
पोखरा, ५ असोज । माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालय पोखरा ३ नदिपुर भिसि मार्गका शिक्षकहरूलाई पठनपाठन प्रक्रियालाई प्रभावकारी बनाउनका लागि माइन्डफुलनेस र स्नायु प्रणाली (नर्भस सिस्टम) सम्बन्धबारे एकदिने अभिमुखीकरण तथा कार्यशाला सम्पन्न भएको छ।
बेलायतबाट नेपाल आएकी स्नायु प्रणाली सम्बन्धी विज्ञ तथा प्रशिक्षक बेकीले विद्यालयका शिक्षकहरूलाई करिब चार घण्टाको कार्यशाला सञ्चालन गरेकी हुन्। अन्तर्राष्ट्रिय स्तरमा विभिन्न व्यावसायिक तथा सामाजिक संस्थालाई प्रशिक्षण दिँदै आएकी स्रोत ब्यक्ति बेकीले प्रशिक्षणमा स्वयम शिक्षकको मानसिक अवस्था र दिनानुदिन बिद्यार्थीहरुले भोगिरहेको तनाव आलश्यपन गैरजिम्मेवारीपन जस्ता ब्यवहारहरुले उनिहरुको शिक्षण सिकाई विचको सम्बन्ध र चुनौतिहरुको वारेमा प्रशिक्षण दिइएकी थिइन् ।
कार्यक्रममा वर्तमान परिवेशमा प्रभावकारी पठनपाठनका लागि शिक्षक स्वयं आफ्नो स्नायु प्रणाली र माइन्डफुलनेस प्रति सचेत हुन आवश्यक रहेकोमा उनको जोड रहेको थियो । शिक्षकहरू आफ्नो मानसिक तथा शारीरिक अवस्थाप्रति सचेत रहन सकेमात्र विद्यार्थी र अभिभावकसँगको व्यवहार तथा सिकाइ प्रक्रियालाई समेत थप प्रभावकारी बनाउन सकिने प्रशिक्षक वेकीले उल्लेख गरिन् ।
कार्यशालाका क्रममा दैनिक जीवनमा आइपर्ने चुनौती तथा तनावपूर्ण अवस्थालाई कसरी व्यवस्थापन गर्ने, कक्षाकोठामा शान्त र सन्तुलित वातावरण कसरी सिर्जना गर्ने, आफ्नो स्नायु प्रणालीलाई कसरी सन्तुलनमा राख्ने तथा अचानक उत्पन्न हुने तनावलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा विभिन्न गतिविधि र उदाहरण प्रस्तुत गर्दै कार्यशाला आयोजना गरिएको थियो ।
विद्यालयका प्राचार्य सइन्द्र राज श्रेष्ठले अन्तर्राष्ट्रियस्तरको प्रशिक्षकबाट शिक्षकहरूले नयाँ ज्ञान र अनुभव हासिल गर्दै शिक्षकहरूलाई कक्षाकोठामा उत्पन्न हुने तनाव व्यवस्थापन गर्न तथा शिक्षण सिकाइको वातावरण सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले प्रशिक्षक बेकीप्रति आभार व्यक्त गरे।
त्यस्तै, विद्यालयका अतिरिक्त क्रियाकलाप निर्देशक तेजबहादुर गुरुङले बेकीको नेपाल भ्रमणका क्रममा उनको विज्ञता विद्यालयका शिक्षकहरूसँग साझा गर्ने अवसर पाउनु खुसीको विषय भएको बताए। प्रशिक्षणबाट प्राप्त ज्ञानलाई शिक्षकहरूले आफ्नो व्यक्तिगत जीवनसँगै कक्षाकोठामा समेत व्यवहारिक रूपमा प्रयोग गर्ने विश्वास उनले व्यक्त गरे।
प्रशिक्षक बेकीले पोखराको विद्यालयमा आएर शिक्षकहरूसँग अनुभव आदानप्रदान गर्न पाउँदा खुसी लागेको बताउदै, शिक्षकहरू प्रशिक्षणबाट लाभान्वित भएको देख्दा आफूलाई थप उत्साहित बनाएको उल्लेख गर्दै उनले विद्यालय परिवारलाई धन्यवाद दिइन्।कार्यक्रममा विद्यालयका शैक्षिक प्रमुख सेजल बिजुक्छेले प्रशिक्षकबाट प्राप्त ज्ञान र अनुभवबाट विद्यालयको सम्पूर्ण टोली लाभान्वित भएको बताइन्।शिक्षक प्रमिला सुनार र पुष्पा कुमारी चापागाईले शिक्षकहरुको तर्फबाट स्रोत व्यक्ति बेकी र बिद्यालय ब्यवस्थापन प्रति आभार प्रकट गरे ।
























